सल्यान, जिल्ला अदालत सल्यानले दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका मुख्य योजनाकारलाई जन्मकैदको फैसला सुनाएको छ। श्रेष्ठ हत्याका मुख्य योजनाकार भनिएका तुलसीपुर ६ का टिकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद र अपहरण मुद्दामा १० वर्षको कैदको फैसला गरेको हो।घटनामा संलग्न अन्य ७ जनालाइ फरकफरक वर्षको कैद सजाय फैसला गरेको छ।
घटना भएको तीन वर्षपछि अदालतले फैसला गरेको हो। अदालतले अविरल महतारालाई ज्यान मार्ने मुद्दामा ५ र अपहरणमा ९ वर्ष, मानबहादुर भण्डारीलाई ज्यान मार्ने मुद्दामा ५ र अपहरणमा ८ वर्ष, मनबहादुर पुनलाई ज्यान मार्ने मुद्दामा ५ र अपहरणमा ८ वर्ष, नारायण वलीलाई ज्यान मार्ने मुद्दामा ५ र अपहरणमा ८ वर्ष, रुगत थापालाई ज्यान मार्ने मुद्दामा ५ र अपहरणमा ८ वर्ष, पूजा घर्तीलाई अपहरण मुद्दामा ८ वर्ष र बिरे घर्तीलाई अपहरण मुद्दामा ७ वर्ष कैद सजाय फैसला गरेको छ। आठै जनालाई अदालतले ५०र५० हजार जरिवाना तोकेको छ। सल्यान अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले ८ जनालाई जेल चलान गरेको छ भने बाँकी तीन जनालाई सफाई दिएको छ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई अदालतले सफाइ दिएको हो। दाङ प्रहरीले घटनाका मुख्य योजनकारसहित १४ जना संलग्न भएको भने पनि ११ जना मात्र पक्राउ परेका छन्। फरार रहेका अन्य तीनजना भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। फरार हुनेमा लोकेन्द्रराज शाही, जयप्रकाश डाँगी भनिने पुर्णबहादुर वली र नरबहादुर वली रहेको प्रहरीले जनाएको छ। प्रतिष्ठित व्यवसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो। अपहरण गरेको तीन महिनापछि श्रेष्ठको शव सल्यानको छत्रेश्वरी ४ झिम्पे भन्ज्याङमा फेला परेको थियो।