घोराही, दाङमा पहिलो पटक चलचित्र महोत्सव सुरु भएको छ । मंगलवारबाट सुरु भएको ‘बुद्ध–सरयू चलचित्र महोत्सव २०७६’ को प्रदेश नम्वर ५का सभामुख पुर्णबहादुर घर्तिले उद्घाटन गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै सभामुख घर्तिले पछिल्लो समय नेपाली चलचित्र संख्यात्मक रुपमा धेरै बने पनि गुणात्मकता कम देखिएको बताए । उनले बनेका सयौ चलचित्रमा केही दुई÷चार वटा चलचित्र मात्र व्यवसायीक रुपमा सफल भएको हुदाँ अव चलचित्रकर्मीहरुले अहिले धेरै महेनत र अध्ययन गरेर चलचित्र निर्माण तर्फ जोड दिनुपर्ने बताए ।
‘अहिले नेपाली चलचित्रहरु व्यवसायीक रुपमा खासै सफल भएका छैनन् ।’ उनले भने ‘मैले पनि केही चलचित्र हलमा पुगेर हेरेको छु तर अहिले स्तरिय कथा वस्तुको अभाव देखिएको छ ।’
उनको भनाईमा अहिले नेपाली चलचित्रमा राष्ट्रवादी र मनोरञ्जनको लागि गरी दुई धारका चलचित्र बनिरहेको बताए । उनले पहिले जस्तो चलचित्रको मुख्य कथा वस्तु प्रस्तुत गर्नको लागि गोरो र राम्रो जीउडाल हुनुपर्छ भन्ने मान्यतालाई पछिल्लो समयका केही निर्माता, निर्देशकले तोडेको भन्दै खुसी व्यक्त गरे । दाङमा पहिलो पटक आयोजना भएको बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को मुल आयोजक पहल नेपाल रहेको छ भने नेपाल फिल्म एवं सांस्कृतिक एकेडेमी काठमाण्डौ, नेपाल ईण्डिपेण्डेट फिल्म मेकर्स सोसाईटी, काठमाण्डौ र उदाहरण समूह, नेपालको सहआयोजना रहेको छ ।
तीन दिनसम्म चल्ने चलचित्र महोत्सवमा नेपाली चलचित्रको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार, निर्देशक तथा निर्माण र विभिन्न संघसंस्थामा रहेर चलचित्रको लागि काम गरेका व्यक्तिहरु सहभागी भएका छन् । महोत्सवमा महत्वपुर्ण चलचित्रहरुको प्रर्दशन, अन्र्तक्रिया, फोटो प्रर्दशनी तथा प्रतियोगिता र भ्रमण तथा अवलोकन कार्यक्रम रहेको आयोजक पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।
महोत्सव अवधीमा बड्का नाँच, दशगजा, कथा ०७२, मैना, नुफामुङ, जन्मुभमी चलचित्रहरुको विशेष प्रर्दशनी हुनेछ । साथै नेपाल पत्रकार महासंघको संयोजनमा फोटो प्रतियोगिता तथा प्रर्दशनीको आयोजना गरिएको छ ।
महोत्सवमा नेपाल चलचित्र बोर्डका कार्यवाहक अध्यक्ष तथा निर्देशक दयाराम दाहाल, अभिनेता अर्जुन श्रेष्ठ, नवल खड्का, चलचित्र निर्देशक समाजका पुर्वअध्यक्ष केपी पाठक, विमल पौडेल, निर्देशक नवीन सुब्बा, प्रितम गुरुङ, आकाश पौडेल, लेखक, निर्देशक तथा प्रशिक्षक अनुप सुबेदी, निर्माता रोहित अधिकारी, चलचित्र निर्माता संघका महासचिव रोज राणा, अभिनेता विनोद श्रेष्ठ, ओम प्रतिक, आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, प्रगतिशिल लेखक संघका पुर्व अध्यक्ष अमर गिरी संगितकार विकास चौधरी, लेखक तथा विश्लेषक यादव देवकोटा लगायतका राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको छ ।