दाङ, धरौटी बुझाएर रिहा हुन लागेका नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा समूहका चार जनालाई प्रहरीले बुधबार अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ । बुधवार दाङ देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन र एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनः नियन्त्रणमा लिइएको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी धरपकडका कारण केहीबेर अदालत परिसरका सर्वसाधारणहरु त्रस्त बनेका थिए ।गएको असोज ३० गते दाङ राजपुर गाउँपालिकाको जंगलबाट नियन्त्रणमा आएका २१ जनामध्ये ४ जना बुधबार धरौटीमा रिहा हुने तयारीमा थिए ।
जिल्ला अदालतले गएको पुस ७ मा पक्राउ परेका २१ जनालाई नै १५÷१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर प्रहरीले फेरि अदालत परिसरबाटै फरक मुद्धा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरु गएको पुस ७ गते धरौटी नबुझाईकन कारागार चलान भएका थिए ।
जिल्ला अदालतको आदेशअनुसार उनीहरु चार जनाका परिवारका सदस्य धरौटी बुझाएर रिहा गर्न अदालत पुगेका थिए । उनीहरुका परिवारका सदस्य अदालत पुग्नासाथ अदालत परिसरमा प्रहरी सख्या बढाइएको थियो ।
आफन्तहरुले धरौटी बुझाएपछि रिहा हुनै लाग्दा प्रहरीले दर्ता चलानी कक्ष बाहिरबाटै उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।