• २०७७ मङ्सिर ११ गते बिहिवार

दाङमा बितेको २४ घण्टामा ६ मिलिमिटर बर्षा

Author Logo..
२०७६ पुष २४ गते बिहिवार

दाङ, दाङमा बितेको २४ घण्टामा ६ मिलिमिटर बर्षा भएको छ ।  मौसम पूर्वानुमान महाशाखा फिल्ड कार्यालय दाङका अनुसार बुधबार र बिहीबार गरि ६ मिलिमिटर बर्षा भएको छ ।  नियमितको बर्षाका कारण दाङमा अत्यधिक चिसो महसुस गरिएको छ । यसैबिच केही दिनदेखि जारी बदली र वर्षामा भोलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।पश्चिम वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई क्षेत्रमा शीतलहर छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, बिहीबारबाट यो प्रणाली विस्तारै बाहिरिन थालेको छ । यही कारण सुदूरपश्चिमको मौसममा सुधार आइसकेको र शुक्रबारबाट देशका मध्य र पूर्वको मौसम पनि सुधारिने मौसमविद् पौडेलले बताए ।
शुक्रबारबाट मौसम सुधारिए पनि सोमबारबाट फेरि वर्षा हुनसक्ने सम्भावना महाशाखाले औंल्याएको छ । सोमबारबाट न्यूनचापीय प्रणाली फेरि सक्रिय हुने र त्यसले पानी पार्ने मौसमविदको भनाइ छ । हिउँदयाममा औसतमा ५–६ वटासम्म मौसम प्रणाली आउँछन् । यस वर्ष अन्य वर्षको तुलनामा केही छिटो गरी मौसम प्रणाली भित्रिएका छन् । मौसमविद्का अनुसार, अब भित्रिने मौसम प्रणाली यो हिउँदयामको पाँचौं हो ।
यस  वर्षको हिउँदमा पाँचौंपटक भित्रिएको प्रणालीले कति दिन वर्षा हुन्छ भन्ने यकिन गर्न भने नसकिने मौसमविद् पौडेलले बताए ।
यता तुलसीपुर उपमहानगरपालिका नगर शिक्षा महाशाखाले अत्यधिक चिसो बढेकाले दुईदिन नगर भित्रका विद्यालयहरु बन्द रहने जनाएको छ ।
नगरको शिक्षा महाशाखाले बिहिवार एक सूचना जारी गर्दै बर्षे विदा कटौटि हुने गरी बिहिबार र शुक्रबार बिदा दिएको जनाएको छ ।
चिसोका कारण बालबालिका समेत विद्यालयमा न्यून उपस्थित हुने गरेको भन्दै दुई दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाई छ । तर विद्यालय प्रशासनले भने परिक्षा संचालन भैरहेकोले विद्यालय बन्द गर्न नसक्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार