पातुखोलाले केही समय सहन्छ,लामो समय सहँदैन : मुख्यमन्त्री पोखरेल

Author Logo..
२०७६ पुष १८ गते शुक्रवार

दाङ,पुस १८ । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले पातुखोला क्षेत्रको बस्ति जोखिममा रहेको बताएका छन् ।  शुक्रवार तुलसीपुरको पातुखोलामा निर्मित बसपार्कको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले मुख्य बजार क्षेत्रको भन्दा पातुखोला बसपार्क क्षेत्रमा तीव्र गतिमा बजार विस्तार बढ्दै जाँदा पातुखोला सानो खोल्साको रुपमा खुम्चिएको प्रति चिन्ता जाहेर गरे । खोलाले केही समय सहने भएपनि लामो समय नसहने भन्दै मुख्य मन्त्री पोखरेलले ती बस्तिको भविस्य प्रतिको चिन्ता जाहेर गरे ।

‘खोलाले केही समय सहने भएपनि लामो समय सहँदैन,यो खोलाको प्रबृति हो,’ मुख्य मन्त्रीले भने ‘त्यसअर्थमा हामी जोखिममा छौं।’
पातुखोला आसपासको बस्ति सुरक्षित बनाउनका लागि प्रदेश सरकारले तटवन्ध निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेर लगानी गरेको उनले बताए । पातुखोलालाई तटवन्ध गर्ने सवालमा मानिसहरुले आफुखुसी निर्माण गरेका घर त छोडौं सौचालय समेत भत्काउन नदिने प्रवृति विकाश विरोधी भएको उनको कथन छ ।
जताततै खोला आसपासका क्षेत्रमा बजार क्षेत्रको भन्दा बढी बस्ति विस्तार भएको हुँदा समयमै सजग हुनुपर्ने आवश्यक्ता उनले औंल्याए ।
पोखरेलले नगरविकास र समुदाय मिलेर घर घडेरी विक्रि गरेमा मात्रै सहर बजार व्यवस्थित हुने तर्क गरे । उनले तुलसीपुर क्षेत्रमा अवस्थित बसोबास बढ्नुको कारण मनपरी प्लटिङ र घर घडेरीको कारोवार गर्नुको परिनाम भएको बताए ।

फोरलेन सडकमा राजनीति गर्न खोजियो

नेकपा प्रदेश ५ का इञ्चार्ज समेत रहेका मुख्य मन्त्री पोखरेलले तुलसीपुर – घोराही फोरलेन सडक विस्तार हुन लाग्दा विकाश हुन लाग्यो भनेर कतिपय आत्तिएको तथा कतिपयले राजनीति गर्न खोजेको आरोप लगाए । नियम काननु पालन गर्नुपर्ने भएपनि त्यो विकाश निर्माणको लागि अनुकुल हुनुपर्ने उनको तर्क थियो । ‘नियम कानुन विकाश विरोधी हुनु हुँदैन, ती विकाशको सहयोगी हुनुपर्छ,’ पोखरेलले भने ।
उच्च अदालत तुलसीपुरमा पहाड उत्खनन्को विषयमा मुद्दा परेपछि २१ गते सम्मको लागि उत्खनन् रोक्न अदालतले अन्तरिम आदेश दिएको छ ।कार्यक्रमलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, वडा ५ का अध्यक्ष विरेन्द्र शाह, ६ का अध्यक्ष नवराज लामिछाने, तुलसीपुरका इञ्जिनियर पवन योगी, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल लगाएले कार्यक्रममा सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार