घोराही, १३ पुस । घोराही उपमहानगरपालिकाले नगल्ने फोहोर खरिद गर्ने भएको छ । नगरको बाताबरण तथा विपद् व्यवस्थापन समिति अन्तरगतको सरसफाई स्वच्छता शाखाले आज आयोजना गरेको समिक्षा कार्यक्रममा नगल्ने फोहोरहरुको बर्गिकरण गरेर खरिद गर्ने निर्णय गरेको हो ।
कपडा र पुनः प्रयोगमा आउने प्लाष्टिकजन्य फोहोरलाई प्रतिकिलो ५ रुपैयाँ र पुनः प्रयोगमा नआउने बस्तुलाई प्रतिकिलो ३ रुपैयाँमा खरिद गर्ने निर्णय भएको हो । प्रत्येक वडाका टोल विकास संस्थाले नगल्ने फोहोर निश्चित ठाउँमा संकलन गर्ने र उपमहानगरले खरिद गरेर बाहिर विक्रि गर्ने योजना बनाएको छ ।
फोहोरबाट संकलित रकमलाई टोल विकास संस्थाले पूर्ण सरसफाईको कार्यक्रम अन्तरगत साबुन, ब्रस, हरपिक खरिदमा लगाउने नीति लिईएको समितिका संयोजक शक्तिराम डाँगीले बताए ।
नगल्ने फोहोर खरिद गर्न नगरले चालु आर्थिक बर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै उपमहानगरले प्लाष्टिकका झोलालाई निरुत्साहित गर्दै कागज र फाईबरका झोलालाई प्रोत्साहन गर्ने समेत नीति अघि सारेको उनको भनाई छ ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले गल्ने फोहोरलाई खेतबारीमै मलकोरुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । उपप्रमुख सीता सिग्देल न्यौपानेले लगानी घटाउदै फोहोरलाई पैसा सँग जोडेर व्यवस्थापनमा लाग्नु पर्ने बताए ।
त्यसैगरी, सरसफाई स्वच्छता शाखा प्रमुख प्रेम केसीले गल्ने र नगल्ने फोहोरलाई अर्थ सँग जोडेर व्यवस्थापन गर्ने बताए । साथै नगर क्षेत्रबाट निस्कीएका गल्ने फोहोरबाट घोराहीमा ग्यास र मल उत्पादनको तयारी भैरहेको छ ।