ओमप्रकाश गुप्ता, सिसहनियाँ १२ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था लि. यस आर्थिक वर्ष देखि कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी निवारण गर्ने योजनालाई अगाडी सारेको छ ।
सहकारी संस्थाको शनिवार राप्ती गाउँपालिका ५ कालापानीमा आयोजना गरेको नवौ वार्षिक साधारणसभामा वार्षिक कार्य योजना पेश गर्दै संस्थाकी व्यवस्थापक सावित्रा चौधरीले सो योजनालाई प्रमुख योजनाको रूपमा अगाडी सारेको बताएकी छिन् ।
साथै उनले संस्थालाई अझ मजबुद बनाउन राप्ती गाउँपालिका ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थालाई गाभेर ठुलो संस्था बनाउने, शेयर सदस्य संख्या वृद्धि गरि ३ सय ५० र्पुयाउने , कृषि प्रविधि तथा सहकारी शिक्षा तालिम र स्वास्थ्य तथा पोषण तालिम सञ्चालन गर्ने योजना संस्थाको रहेको छ ।
संस्थाकी अध्यक्ष करमकाशी चौधरीको अध्यक्षता एवम् जिल्ला कृषि सहकारी संघकी अध्यक्ष पदमा आचार्यको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि आचार्यले कृषि प्रधान देशमा राज्यले भने अनुसारको कार्यक्रम तथा योजना ल्याउन नसकेको र वास्तविक किसान भन्दा गैर किसानले फाइदा लिइरहेको गुनासो गरेकी छिन् । साथै उनले सहकारी संस्थाले बढी भन्दा बढी कृषि क्षेत्रमा सहकारीले लगानी लगाउन सुझाव समेत दिएकी छिन् ।