तुलसीपुर , क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ । ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले क्रिश्चियन धर्मावलम्बिलाई मात्रै सार्वजनिक विदा दिएको छ ।
ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
विक्रम संवत् ०६२ र ६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । नेपाल धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको अनुमान छ ।