
दुई ऐन र एक नीति पारित, दुई ठूला गौरवका योजना सञ्चालन हुनेसल्यान, ४ पुस ।संसदीय अभ्यासको झल्को दिने गरि कपुरकोट गाउँपालिकाको छैठौँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाले दुई वटा ऐन र एउटा नीति पारित गर्दै रकमान्तर गरि दुई ठूला गौरवका योजना सञ्चालन गर्ने निर्णय समेत गरेको छ । सभाले विधेयक समितीका संयोजक मिन बहादुर सेनले पेश गरेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६, स्वास्थ्य र सरसफाई सम्वन्धी ऐन, ०७६ र सुशासन (सञ्चालन तथा व्यवस्थापन) नीति, २०७६ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारि दिए ।
कर्णाली प्रदेश सरकार सँग ५० प्रतिशत समपुरक अनुदान कार्यक्रमा साझेदारी गरी कपुरकोट फलावाङ मोटर बाटो रु १ करोड ६० लाख र जामुने खानेपानी योजना १ करोड १० लाख रुपैयाँमा सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै दर्जन बढि योजनाहरु संघिय सरकार तथा कर्णाली प्रदेश सरकारसँग समपूरक अनुदान तथा विषेश अनुदान कार्यक्रम मार्फत कार्यान्वयन गर्ने गरी अनुरोध गरी पठाउने निर्णय गरेको प्रमुख प्रशसकीय अधिकृत भण्डारीले बताए ।
गाउँसभाका अध्यक्ष भिम बहादुर सेनले प्रस्तुत गरेको प्रस्तावहरुमा गाउँसभाका सदस्यहरुले छलफलमा भाग लिएर बहुमतले पारित गरेका थिए । गाउँसभाका सदस्यहरुलाई निर्देशन गर्दै उनले विकास निर्माणका हरेक योजनाहरु पारदर्शी, दिगो र गुणस्तरिय बनाउन सचेत बन्न आग्रह गरेका थिए । गाउँसभाले विभिन्न योजनाहरुको शिर्षक संशोधन समेत गरेको छ ।