घोराही,दाङको घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य उपचार कार्यक्रम सुरु गरेको छ । उपमहानगरका १९ वटै वडाका जेष्ठ नागरिकहरुको घरमै पुगेर उपचार, औषधी बितरण, परामर्श गर्ने गरी जेष्ठ नागरिक स्वास्थ्य हेरचाह घरभेट कार्यक्रम सुरु गरेको उपमहानगरपालिकाले जनाएको छ ।
शुक्रवार वडा नम्बर ४ को गोग्ली स्थित शान्तिनगर टोलका ९१ बर्षिय मुमाकान्त आचार्य र उनकी श्रीमती ८४ बर्षिय भुमा आचार्यको घरमै पुगेर स्वास्थ्यकर्मीको टोली स्वास्थ्य जाँच गरेका छन् । स्वास्थ्यकर्मीहरु नारायण प्रसाद शर्मा, केशब धिताल सहितको टोली उनीहरुको स्वास्थ्य जाँच गरेका थिए । सरकारले जेष्ठ नागरिक भत्ता बृद्धि गर्दै लगेको र घरमै आएर स्वास्थ्य जाँच गर्दा आफुहरु निकै खुसी भएको मुमाकान्त आचार्यले बताए ।
यता उपमहानगरले जेष्ठ नागरिकहरुको सम्मानका लागि घरमै स्वास्थ्य जाँच गर्ने अभियानको सुरुवात गरेको उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले बताईन् । उनले जेष्ठ नागरिकको सम्मानले मात्रै नयाँ पुस्ताले सामाजिक रुपान्तरणको कामलाई प्रभावकारी बनाउने बताईन् ।
उनले भनिन्, परिवारले समेत जेष्ठ नागरिकको सेवा सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि उपमहानगरले घरमै पुगेर स्वास्थ्य जाँचको कार्यक्रम ल्याएको हो । ५ वटा स्वास्थ्यकर्मीको टोलीले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँचको कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक बर्षमा उक्त कार्यक्रम सञ्चालन र औषधी खरिदका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको उपमहानगरले जनाएको छ ।