शान्तिनगर : अनार खेतिका लागि आवश्यक पर्ने प्राविधिक सल्लाह नपाउँदा दाङको शान्तिनगर २ अमुवाका किसान मर्कामा परेका छन् । अमुवाकी भगवती पौडेलले २०७० सालदेखि अनारखेति शुरु गरिन । उनले ६ कठ्ठामा अनार खेती गरेको बताईन् । मकै र तोरी खेती गर्दै आएकी पौडेललाई अनार खेतिको लागि उपयुक्त मौसम र माटो रहेको कृषि प्राविधिले सुझाव दिएपछि व्यावसायिक रुपमा अनार खेति गरेको उनले बताईन् ।
अनार रोपेको २ बर्षको अवधिमा बोट निकै लोभलाग्दा भएका थिए । तर फुल्ने र फल लाग्ने समयमा सिंचाईको अभाव भयो । जसका कारणले अनारका दाना लाग्नै सकेनन् । “अनार फागुन चैत्रमा फुल्ने रहेछ”, पौडेलले भनिन्, “त्यतिबेला पानी चाहिने रहेछ । यहाँ हामीलाई पिउने पानीको समस्या हुन्छ, त्यस बेला अनि अनारलाई कसरी पानी पाउनु ?” किसानहरुलाई अहिले सरकारले कृषि गर्नको लागि विभिन्न अनुदान दिने गरेको भएता पनि आफुहरुको समस्याप्रति अहिलेसम्म कसैले चासो नदिएको उनले गुनासो गरिन् । पौडेल मात्र नभई २०७० सालमा उक्त गाउँमा १४ सय अनारका बोटहरु सप्तरीबाट ल्याई २० जना भन्दा बढिले करिब ५ बिगाहा जमिनमा खेती गरेका छन ।
मकै र तोरी खेति गर्दै आएका अर्का रेशम खड्काले पनि करिब १५ कठ्ठामा एक सय बोट अनार खेती गरेका थिए । तर ६ बर्षसम्म अनारबाट कुनै आम्दानी नभएपछि अहिले सबै अनार फालेर मकै र तोरी खेती गर्नु शुरु गरेको बताए । फुल फुल्ने बेला अनारलाई पानी प्रशस्त चाहिने तर गाउँमा सिंचाईको अभावले अनार फस्टाउन नसकेपछि सबैले पुरानै खेती अंगाल्न शुरु गरेको खड्काले बताए ।
एउटा अनारको बोट खरिद गर्दा ५५ रुपैयाँ मुल्य परेको र त्यसलाई रोप्न खाडल बनाउन,मल तथा श्रमको मूल्य समेत गर्दा २ हजार जति खर्च भएको अर्का बासुदेब न्यौपानेले बताए । आफुहरुले खेती गर्दा अनारको बजार मुल्य पनि धेरै र हावा पानीले उपयुक्त ठाउँ भएकाले अनार खेती गरेको भएता पनि पानीको कारणले गर्दा आफुहरुलाई समस्या भएको उनले बताए ।
न्यौपानेले करिब १२ कठ्ठामा एक सय अनारको बोट लगाएको भन्दै करिब ६ बर्ष सम्म आम्दानी नभएपछि धेरै बोटहरु नष्ट गरिसकेर पुरानै खेती गरेको बताए । उनका अनुसार यदि राम्रोसंग अनारको बोट फस्टाएमा करिब एकसय किलोसम्म अनार फल्ने गर्दछ । तर पानी र रोगको कारणले गर्दा थोरै फले पनि बजार कै कारणले अनार नबिक्ने उनले गुनासो गरे । “८÷१० किलो अनार फले पनि त्यो बिक्दैनन्,” न्यौपानेले भने । “ बजार लगेर बेच्दा बिक्दैन् बिचौलीयाँले प्रति किलो ७०÷८० मा राख्छन् । अनि हामीले दुख गर्ने, लगानी गर्ने तर हामीलाई नाफा नहुने भएकाले पनि अनारखेती मन मरेको उनले बताए ।”