नेपालले जित्यो १३ औँ सागमा फुटबलतर्फको स्वर्ण पदक

Author Logo..
२०७६ मङ्सिर २४ गते मङ्गलवार

काठमाण्डौ, दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ ।

खेलको १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको केही बेरमै भुटानका कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए । त्यसपछि लगातारमा भुटानले नेपालमाथि दबाब बनाउने प्रयास जारी राख्यो । तर दोस्रो हाफको सुरुमै सुनिल वलको गोलमा नेपालले २–१ को अग्रता बनायो । ५३औँ मिनेटमा सुनिलले गोल गरेका हुन् ।

भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो । नेपाललाई हराउँदै फुटबलमा अर्को इतिहास रच्ने भुटानको सपना भने पूरा भएको छैन । तर भुटानले पछिल्लो समय गरेको प्रदर्शनले भने मन जित्न सफल भएको छ । केही वर्षअघि निकै कमजोर मानिने भुटानी फुटबल पछिल्लो समय निकै निखारिँदै गएको छ । यसअघि जारी सागकै समूह चरणमा नेपालले भुटानलाई ४-० ले हराएकाे थियाे ।

नेपाललाई भने लगातार साग फुटबलमा स्वर्ण जित्दै इतिहास बनाएको छ । २०१६ मा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । नेपालको खेल हेर्न दशरथ रंगशालामा दर्शकको खचाखच उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार