विकास डाँगी,तुलसीपुर : दाङका विभिन्न प्रकारका प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लागु भएका छन । दाङको देउखुरी क्षेत्रमा मैक जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम दाङमा तोरी जोन इकाई लागु भएको छ । कृषिमा व्यावसायिकता र आधुनीकता भित्र्याउने उद्देश्यले सञ्चालनमा आएका परियोजना लागु भएपछि कृषकहरु खुशी भएका छन् ।
तर उनीहरुलाई कृषि गर्नको लागि सिंचाई, मल लगाएतका कुराले समस्या भोग्दै आएका छन् ।आर्थिक बर्ष २०७५÷७६ मा पश्चिम दाङका ३ गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १ र २ मा तोरी जोन कार्यक्रम लागु भएको छ । तर तोरी उत्पादनमा बृद्धि गर्नको लागि जोन कार्यक्रम लागु गरेको भएता पनि किसानहरुले समय मै सिंचाई र मल नपाउँदा समस्या भएको बताएका छन ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ का ईश्वरी न्यौपानेले तोरी जोन कार्यक्रम लागु हुदाँ आफुलाई फाईदा भएको भएता पनि सिंचाईका कारणले समस्या भोग्नु परेको बताए । पहिला परम्परागत रुपमा रोपिएको तोरी भन्दा उन्नती जातको तोरीमा उत्पादनमा बृद्धि हुने गरेको भएता पनि तोरीलाई आवश्यक पर्ने बेला मल र पानी नपाउँदा समस्या भएको बताए । शान्तिनगर २ अमुवामा प्रगतीशिल कृषि महिला समहुको गठन गरी करिब २० विगाह बारीमा तोरी खेती गरेको समुहकी अध्यक्ष सरस्वती न्यौपाने बताईन् ।
उनले तोरी छर्ने बेला बारीमा चिसो नहुदाँ र तारी छरी सकेपछि पानी समयमै नपाउँदा समस्या हुने गरेको बताईन । त्यसैगरी पक्कि कुलो नहुदाँ सानो पानी पनि बारी सम्म लैजादाँ बाटो मै हराउने गरेको उनको भनाई छ । तोरी जोन कार्यक्रम भएपछि उन्नत जातको विउ, मल, औजारहरु सहुलियतमा पाउने गरेको भएता पनि सिंचाईका कारण सोच जस्तो उत्पादन नहुने उनले बताईन् ।
दाङलाई खाने तेलका लागि आत्मनिर्भर बनाउन तोरी सुपर जोन कार्यक्रम पश्चिम दाङमा संचालन गरेका सबै किसानहरु समेटिएका छैनन् । सबै किसानहरुलाई समेट्न नसक्दा तोरी उत्पादनमा कमी हुने तोरी जोन दाङको संचालक समितिका सचिव थम्मन कँडेलले बताए ।
‘हामीले उन्नती जातको तोरी रोपेका छौँ,’ उनले भने ,‘ तर छिमेकीले अन्य तोरी रोपेका छन् । त्यहि तोरीले परागसेचनमा समस्या हुने भएकाले तोरी उत्पादनमा ह्रास आउने उनले बताए । उनले भने, ‘ कि सबै किसानहरुले एउटै तोरी खेती गर्नु पर्छ, हैन भने अन्य छिमेकीले अर्काे जातको तोरी खेती गर्दा उत्पादनमा समस्या हुन्छ । ’ उनले थपे ‘उन्नत जातको तारी रोपे पछि करिब २ सय मिटरको दुरीमा अर्काे तोरी खेती हुनुपर्छ तर हाम्रो तोरी खेती सटेको हुन्छ’ , त्यसैले तोरी उत्पादनमा बृद्धि गर्न सबै किसानहरुलाई समेट्नु पर्ने उनले बताए ।
गत बर्षमा उन्नती जातको तोरी अन्य तोरी भन्दा २÷३ प्रतिशतले उत्पादनमा बृद्धि भएको उनले बताए । त्यस्तै अर्का शान्तिनगरका २ का कृषक बासुदेब न्यौपानेले उन्नत जातको तोरी खेती गर्दा पहिले खेती गर्ने तोरी भन्दा उत्पादनमा बृद्धि हुने भएता पनि तोरीमा लाग्ने रोगका कारण आफुहरुलाई समस्या हुने बताए । ‘तोरीको दाना लाग्ने बेलामा रोग लाग्छ, तर त्यसलाई कसरी नियन्त्रण गर्ने हामीलाई समस्या हुन्छ,’ उनले भने । त्यसैगरी उनले आफ्नो गाउँमा सिंचाई गर्न पानीको स्रोत भए पनि त्यो प्रयोग गर्न नसक्दा त्यतिकै खेर गएको छ । ‘गाउँदेखि तलतिर पानीको श्रोत छ, त्यसलाई गाउँसम्म ल्याउन सके धेरै किसानहरुलाई राहत हुन्छ,’ उनले भने, ।
पश्चिम दाङका ३ गाउँपालिका र तुलसीपुरका १ र २ वडामा गरी २७ समुह र सहकारी मार्फत तोरी जोन कार्यक्रममा सहभागी भएको तोरी जोन ईकाई तुलसीपुरका धनराज गौतमले बताए । स्थानीयतहबाट सिफारिस गरेर पठाएकालाई मात्र समाबेश गरेको बताए । त्यसैगरी सहकारी वा समुहले १५ विगाह भन्दा बढि तोरी खेती गर्नेलाई मात्र समाबेश गर्ने उहाँले बताए । अहिले सम्म उक्त क्षेत्रमा करिब साढे ३ सय हेक्टरमा उन्नती जातको तोरी खेती भएको उनले बताए । त्यसैगरी अहिले नेपालमा २८ अर्बको तेल बाहिरबाट भित्रीने भएकाले त्यसलाई रोक्नको लागी थोरै जमिनमा धेरै तोरी उत्पादन गर्नको लागी यो योजना लागु गरेको बताए । अहिले उक्त कार्यक्रमले उन्नत जातको तोरी, मल,कृषी औजार, भकारो सुधार, साना सिंचाईको लागी लगानी गर्दै आएको उनले बताए ।