घोराही । होटल व्यवसायी महासंघ प्रदेश ५ को तेश्रो बिस्तारित बैठकले नेपाल भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ । दाङको धार्मिक तथा पर्यटकीय स्थल धारापानीमा सम्पन्न प्रदेश ५ को होटल व्यवसायी महासंघको बैठकले भ्रमण वर्षलाई लक्षित गरी सेवाग्राहीलाई २० प्रतिशत छुट दिने निर्णय गरेको हो । प्रदेश ५ का १२ जिल्लाका होटल व्यवसायी सहभागी भएकाले भेलाले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई होटलमा रहँदा बस्दा प्रदान गरिने सेवामा कमी हुन नदिन भरपूर ध्यान केन्द्रित गर्न पनि मातहतका सबै संघलाई आग्रह गरेको छ । होटल व्यवसायी महासंघ ५ नम्बर प्रदेश अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षतामा भएको भेलाले संघलाई चलायमान बनाउन विभिन्न उपसमिति पनि गठन गरेको छ । संघको कार्य सम्पादन व्यवस्थित गर्न प्रचार प्रसार उपसमिति, प्रशासनिक तथा व्यवस्थापन उपसमिति, आर्थिक उपसमिति, राजमार्गमा रहेका लाईन होटल व्यवस्थापन उपसमिति, तथा अतिरिक्त कृयाकलाप उपसमिति गठन गरिएको छ ।
जस अन्तर्गत गणेश बेल्बासे संयोजक रहेको प्रचार प्रसार उपसमिति, दधीराम भण्डारी संयोजक रहेको प्रशासन तथा व्यवस्थापन उपसमिति, दीपेन्द्र पुन संयोजक रहेको आर्थिक उपसमिति तथा महेन्द्र श्रेष्ठ संयोजक रहेको अतिरिक्त कृयाकलाप उपसमिति गठन गरिएको छ । संघले आगामी केन्द्रिय अधिवेशनका लागि प्रदेश ५ का सबै होटल व्यवसायी एकजुट भएर अघि बढ्ने तयारी गरेको छ । प्रदेश ५ का सम्पूर्ण होटल व्यवसायीको मनोभावना एउटै बनाएर प्रदेशको समृद्धि र होटल व्यवसायीको हीतमा रहने गरी अघि बढ्ने सहमति भएको प्रदेश ५ का अध्यक्ष काफ्ले बताए । सो अवसरमा होटल व्यवसायी महासंघको संस्थापक अध्यक्ष माधव नेपालले नेपाल भ्रमण वर्षलाई लक्षित गरी प्रदेश ५का सबै होटल व्यवसायीहरु भावनात्मक एकताका साथ बढी भन्दा लाभ लिन सक्ने गरी जुट्न अनुरोध गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपालले होटल व्यवसाय पर्यटनको मेरुदण्डका रुपमा रहेकाले सबै खाले पर्यटकको सेवा सत्कारमा कुनै कमी कमजोरी नदेखिने गरी कटिवद्ध भई लाग्न सचेत गराए ।
होटलमा आउने जो कोहीको न्यायो आत्थ्यिताका लागि कुनै कसर बाँकी नराख्न भन्दै उनले होटल व्यवसायीका कारण बदनाम हुने स्थिति आउन नहुने उनको भनाई थियो । प्रदेश ५ अरु प्रदेशभन्दा हरेक दृष्टिकोणले समृद्ध रहेकाले यहाँको श्रोत साधनको अधिकतम लाभ लिन सक्ने गरी खट्न सुझाए । प्रदेश ५ लाई पर्यटन क्षेत्रबाट समृद्ध बनाउन सक्ने प्रसस्त आधार रहेकाले यस प्रति लगानी बढाउन पनि होटल व्यवसायीहरुलाई उनको सुझाव थियो । यसैबीच, प्रदेश ५ को तेश्रो विस्तारित भेलामा सहभागी हुन आएका प्रदेश भरका १२ वटै जिल्लाका होटल व्यासायीहरुलाई दाङ देउखुरी होटल व्यवसायी समितिले एक कार्यक्रमको आयोजना गरी स्वागत सम्मान गरेको छ ।
समिति अध्यक्ष रुद्रबहादुर डाँगीको अध्यक्षता तथा होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालको प्रमुख आतिथ्यमा स्वागत सम्मान कार्यक्रम भएको हो ।
सो अवसरमा समिति अध्यक्ष डाँगीले दाङ देउखुरीको होटल व्यवसाय र पर्यटीय क्षेत्रका बारेमा जानकारी गराउँदै आन्तरिक तथा बाह्य पर्यटकका लागि दाङ उत्कृष्ट गन्तव्य रहेको बताए । समिति सचिव ईश्वर बुढाले सहजीकरण गरेको कार्यक्रममा होटल व्यवसाय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाहरु सम्मानित भएका थिए ।