मंसीर १४ गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित भएकी प्रदेश ५ को प्रदेश सभा सदस्य बिमला वलीले बुधबार सपथ ग्रहण गरेकी छिन् । पाँच नं. प्रदेश सभामुख पुर्णबहादुर घर्तीले सांसद वलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । वली गएको उपनिर्वाचनमा दाङ क्षेत्र नं. ३ (२) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित भएकी हुन् । सपथ ग्रहण समारोहमा प्रदेश सरकारका उच्च पदस्थ सहभागी भएका थिए । सपथ ग्रहण पश्चात सांसद वलीले अबको जीवन राजनीतिमा बिताउने बताएकी छिन् । उनले मतदातासँग गरेका वाचालाई अक्षरशः पालना गर्दै स्वर्गीय श्रीमान उत्तरकुमार वलीले जनतासामु छाडेर गएका अधूरा काम पूरा गर्न सधैं जनताकै साथमा रहने बताइन् ।
यता, घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित वडा अध्यक्ष ताराबहादुर डाँगीले पनि बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।
घोराही उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सीता सिग्देल न्यौपानेले नव निर्वाचित वडा अध्यक्ष डाँगीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन । नवनिर्वाचित अध्यक्ष डाँगीलाई सपथ ग्रहण गराउँदा घोराही उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, अन्य वडाका वडा अध्यक्ष पनि उपस्थित भएका थिए । सपथ ग्रहण पश्चात कार्यवाहक नगरप्रमुख न्यौपानेले वडा अध्यक्ष डाँगीलाई बधाई दिँदै वडाबासीको मन जितेर विकासमा लाग्न आग्रह गरिन् । यस्तै, नव निर्वाचित अध्यक्ष डाँगीले वडाबासीको मन जित्ने गरी सबैसँगको समन्वय र सहकार्यबाट काम गर्ने प्रतिबद्धता जनाए ।