• २०७७ कार्तिक ६ गते बिहिवार

तीन बैंकसंग वडामै पुगेर भत्ता वितरण गर्ने सम्झौता

Author Logo..
२०७६ पुष २ गते बुधवार

सल्यान, २ पुस । सबै किसिमका सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउन सल्यानको कपुरकोट गाउँपालिकाले ३ वटा बैंक संग सम्झौता गरेको छ । ६ वटा वडाहरुको केन्द्रमै पुगेर बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको गाउँपालिकाले जनाएको छ ।

दोश्रो चौमासिक देखि बैंक खाता मार्फत भत्ता उपलब्ध गराउने गरि गाउँपालिका तथा मेगा बैंक, कुमारी बैंक र ज्योती विकास बैंक विच सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारि दिए ।

सम्झौता अनुसार मेगा बैंकले कपुरकोट गाउँपालिका वडा नम्बर ३, ४, ५ मा बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छ । यस्तै कुमारि बैंकले वडा नम्बर ६ र ज्योती विकास बैंकले १ र २ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरि सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

बैंकले सम्बन्धीत वडाको केन्द्रमा नै पुगेर लाभग्राहिको खाता संचालन गर्नेछन् भने हरेक चौमासिकमा सम्बन्धीत वडाको केन्द्रमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ । अति अशक्त लाभग्राहिलाई घरमै गएर भत्ता वितरण गर्ने सम्झौता भएको गाउँपालिकाले जनाएको छ । आगामी दुई वर्ष सम्मका लागी बैंक र गाउँपालिका विच सम्झौता भएको हो ।

नेपाल सरकारको पनि नीति र यस अघि हातैमा दिदै आएको भत्ता दुरुपयोग हुन सक्ने देखिएकोले बैंक मार्फत सामाजिक सुरक्षा वितरणको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित रुपमा बितरण गर्न बैंक खाता मार्फत दिने व्यवस्था मिलाइएको उनले बताए । अध्यक्ष सेनले भने, ‘हामीले प्रभावकारि ढंगबाट सामाजिक सुरक्षा भत्ता वितरणको ब्यवस्था मिलाएका छौँ । लाभग्राहीहरुलाई थप सुविधाका लागी सम्बन्धीत वडामै र अती अशक्तको घरमै गएर भत्ता वितरण गर्न बैंकहरु पनि राजी भएका छन् ।’

हातमा दिने रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने भएपछि रकम दुरुपयोग हुने खतरा हटेको छ । यस अघि अगाडी नामकार्ड अनुसार सम्बन्धित व्यक्ति नआएर घरपरिवारको जोसुकै व्यक्ति आएपनि रकम दिने गर्दा घरपरिवारका अन्य ब्यक्तिले रकम दुरुपयोग गर्नेगरेको गुनासो आउने गरेको थियो ।

            जेष्ठ नागरिकको घरमै उपचार

यसैविच कपुरकोट गाउँपालिकाले हरेक चौमासिकमा घरदैलोमै गएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार गर्नेगरेको छ । गाउँपालिकाको नीति अनुसार नै ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्बन्धीत वडा तथा घरदैलोमै गएर चेकजाँच र निःशुल्क औषधि वितरणको ब्यवस्था मिलाईएको स्वास्थ्य शाखाका संयोजक अरुण दाहालले जानकारि दिए । उनले भने, ‘जेष्ठ नागरिकको स्वास्थ्य प्रति गाउँपालिका संवेदनशिल छ, त्यसैले हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता वितरणको मौका छोपेर उहाँहरुको स्वास्थ्य चेकजाँच र औषधोपचारको ब्यवस्था गरिएको छ ।’

गाउँपालिकाको यस प्रकारको नीतिले बृद्धबृद्धाहरु निकै खुसि भएको वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुनले बताए । बृद्धबृद्धाको उपचारको लागी सम्बन्धीत वडामा रहेका स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी ढंगले परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार