घोराही, घोराही उपमहानगरपालिकाको न्यायीक समितिले चालु आर्थिक बर्षको चार महिनामा ३९ वटा बिबादको मिलापत्र गरेको जनाएको छ । न्यायीक समितिले पत्रकार सम्मेलन गरी वितेको चार महिनामा दर्ता भएका मध्य २२ र गत बर्षको १७ गरी ३९ वटा बिबादमा मिलापत्र गराएको जानकारी दिएको हो ।
पहिलो चौमासिकको कार्य प्रगती सार्वजनिक गर्दै चालु आर्थिक बर्षको ४ महिनामा ७९ वटा उजुरी दर्ता भएकोमा २२ वटा उजुरीको मिलापत्र गरेको र बाँकी ५९ वटा उजुरी प्रकृयामै रहेको न्यायीक समिति संयोजक सीता सिग्देल न्यौपानेले बताईन् ।त्यस्तै गतबर्षको बाँकी १ सय २६ उजुरी मध्य १७ वटाको पनि मिलापत्र गरेको जानकारी दिईएको छ । न्यायीक समितिमा सबै भन्दा धेरै जग्गा बिबादका मुद्धा आउने गरेका छन् ।
चार महिनामा २१ जग्गा रोक्का, जग्गा बिबादका १४, लेनदेनका १३, घरेलु हिंसाका ७, मानाचालमका ७, बाताबरणका ३ र कुलोपानी तथा गाली बेइज्जतीका एक एक वटा उजरी आएका समिति संयोजक न्यौपानेले बताईन् ।न्यायीक समितिले बर्षौ सम्म पनि न्याय नपाएकाहरुलाई न्याय दिन सफल भएको र जनविश्वास पनि बढ्दै गएको उपमहानगरका कानुनी सल्लाहकार भुपबहादुर केसीले बताए।
जन्मदर्ता, लेनदेन, जग्गा बिबाद, मानाचामलका विषयमा दुबै पक्षलाई जीतको महशुस हुने गरी न्याय दिईएको उनको भनाई छ । वितेको बर्षमा न्यायीक समितिमा २ सय ५६ वटा उजुरी दर्ता भएकोमा १ सय ५ वटा बिबादको मिलापत्र भएको थियो ।