घोराही, घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक बर्षको पहिलो चौमासीकको सार्वजनिक सुनुवाई गरेको छ । आज कार्यालयमै वडाले चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेटका बारेमा जानकारी दिदै पहिलो चार महिनमा गरेका कामको बारेमा जानकारी दिएको हो ।
कार्यक्रममा वडा सदस्य गुलाम रसुलले वडाको एक करोड रुपैयाँ बजेट रहेको र सो बजेटलाई वडाबासीको सहभागितामा योजनामा रुपान्तरण गर्दै कार्यान्वयनमा अघि बढेको बताए ।
पहिलो चार महिनामा १९ वटा योजनाहरुमा उपभोक्ता समिति गठन र सम्झौता भएको बताए। वडाबासीहरुकै सहभागितामा योजनाहरुलाई कार्यान्वयमा लैजाने गरी काम सुरु भएको उनको भनाई छ ।
वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरबासीकै साथ र सहयोगले मात्रै नगरको विकास हुने बताए । सरकारले ल्याएका योजनाहरुलाई आफ्नै विकास ठानेर ग्रहण गर्दै नगरलाई सुन्दर र संबृद्ध बनाउने भूमिका सबैको हुने बताए ।
त्यसैगरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले वडाबासीको चासो र सकृयताले दिगो विकास हुने बताए । कार्यक्रममा लेखा प्रमुख लोकमणि शर्मा, सरसफाई व्यवस्थापन शाखा प्रमुख प्रेम केसीले सबैको सहकार्य र समन्वयबाटै नगरलाई राम्रो बनाउन सकिने बताए ।
कार्यक्रममा बोल्ने वडाबासीहरुले सडक बत्ती, फोहोर व्यवस्थापन र तथा सडक मर्मतलाई बिषेश ध्यान दिन सुझाब दिएका छन् । सार्वजनिक सुनुवाईको समन्वय ग्रामिण महिला उत्थान केन्द्र दाङले गरेको थियो ।