मौनअवधि सुरु हुँदैछ, आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

Author Logo..
२०७६ मङ्सिर ११ गते बुधवार

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न-गराउन राजनीतिक दल लगायत आम मतदातामा अपिल गरेको छ। आयोगले बुधबार पत्रकार सम्मेलन गरी मंसिर १४ गते उपनिर्वाचनका लागि बुधबार राती १२ बजेदेखि मौन अवधि सुरु भएको जानकारी गराउँदै त्यस अवधिमा आचार संहिता उलंघनका कुनै पनि क्रियाकलापमा संलग्न नहुन राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई आव्हान गरेको हो।  आचारसंहिता विपरितका कार्य गर्नेलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाही गरिने भन्दै आयोगले मौन अवधिमा सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरि मत माग्न, प्रचार प्रसार नगर्न सचेत गराएको छ।

आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गरि निर्धक्क रुपमा मतदाताले मताधिकारको प्रयोग गर्ने अवस्था निर्माण गर्न सबैसँग अपील गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले  मौन अवधिमा मतदातालाई आश्वासन दिने, प्रलोभनमा पार्ने, दबाब दिने, मतदाता परिचयपत्र कब्जा गर्ने जस्ता घटना भएमा तुरुन्तै जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा सम्बन्धित निकायलाई जानकारी गराई सहयोग गर्न पनि आग्रह गरे। आयोगले उपनिर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको पनि जनाएको छ। आयोगले उपनिर्वाचन पर्यवेक्षणका लागि ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरुलाई अनुमति प्रदान गरेको छ।

मतदानको दिन मतदान केन्द्र भ्रमणका लागि परराष्टमन्त्रालयमार्फत् अमेरिका, जापान र अष्ट्रेलिया दुतावास तथा युरोपियन युनियनलाई पनि अनुमति दिएको आयोगले जनाएको छ। प्रतिनिधिसभातर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य १ , प्रदेशसभा सदस्य, स्थानिय तह तर्फ उपमहानगरपालिका, गाउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका वडाअध्यक्ष समेत ५२ रिक्त पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल, ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार