हापुरे , समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बुधवार दाङमा रहेको बार्ता घरको अवलोकन गरेका छन् । अध्यक्ष भट्टराई यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टीका उम्मेदवारलाई भोट माग्न दाङ आएको बेला उनले बार्ता घरको अवलोकन गरेका हुन् । हापुरे बजारस्थित शिवलाल खत्रीको घरमा तत्कालीन नेकपा माओवादी र सरकारका बिचमा २०६० साल साउन ३२ देखि भदौ २ गतेसम्म पहिलो पटक बार्ता भएको थियो । त्यस बेला सरकार र माओवादी बीच वार्ता भएको घरमा पुगेर त्यहा राखिएका तस्विरहरु नियालेपछि अध्यक्ष भट्टराईले आफुमा रोमाञ्चक अनुभूति भएको समाजिक सञ्जालमा उल्लेख गरेका छन् । तत्कालिन समयमा बार्ता भएको कोठामा कृष्णबहादुर महरा र आफ्नो फोटोपनि टाँगिएको देखेपछि भट्टराईले रोमाञ्चित अनुभुति भएको उल्लेख गरेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भट्टराई तत्कालीन माओवादी केन्द्र परित्याग गरी नयाँ पार्टी स्थापना गरेर त्यसको संयोजक भएका थिए । तर पछिल्लो समय उनी पार्टी एकता गरेर समाजवादी पार्टीको अध्यक्ष भएका छन् । महरा भने आफ्नै संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी अभियोग पछि हाल पुर्पक्षका लागि थुनामा छन् । जहाँ सरकारको तर्फबाट बार्ताको लागी कमल थापा र प्रकास चन्द्र लोहनी दाङ आएका थिए ।