प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । अहिले उनको अपरेसनको तयारी भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली आज बिहानै उपचारका लागि अस्पताल गएका थिए । परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएको हो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको जनाए ।
ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंग नै ‘एपेण्डिक्स’ हो । एपेण्डिक्समा ब्याक्टेरिया संक्रमण अथाव कुनै अवरोध भएको अवस्थामा सुन्निने र पिप भरिने हुन्छ । समयमै उपचार नभएको अवस्थामा फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ ।
एपेण्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार गरिनु पर्छ । एपेण्डिक्स फुट्नुअगावै अपरेसन गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुन सक्छ । अपरेसन गरेका यस्ता बिरामीले केही दिन अस्पतालमै आराम गर्नुपर्छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो पटक समस्या बल्झिरहेको छ । मिर्गौलाका बिरामी ओलीको स्वास्थ्यमा समस्या आएपछि एक महिनाको अन्तरालमा चार पटक डायलायसिस गरिसकेको छ ।