सल्यान, सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा उपलब्ध गराएको छ । विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्ष देखि विद्यालयमा छात्रा विश्राम कक्षको व्यवस्था गरिदिएको गाउँपालिकाले हाल सम्म १० हजार पाँच सय स्यानेटरी प्याड वितरण गरेको हो । छात्राहरुको विद्यालय अनुपस्थित हुने दरमा कमी ल्याउन यो कार्यक्रम प्रभावकारी देखिएपछि विद्यालयको आवश्यकता अनुसार स्यानेटरी प्याड वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जानकारी दिए ।
चालु आर्थिक वर्षको लागि गाउँपालिकाले आफ्नो पालिकाका सबै माध्यमिक विद्यालयमा पुगेर सात हजार प्याड वितरण गरेको हो । पाँच वटा मावि रहेको कपुरकोटमा एउटा विद्यालयमा एक हजार चार सय पिस प्याड वितरण गरिएको दाहालले जनाए । गत आर्थिक वर्ष एक विद्यालयमा सात सयको दरले तीन हजार पाँच सय प्याड वितरण गरिएको थियो ।
सुरुमा छात्राहरुले प्याड मागेर प्रयोग गर्न केहि असजिलो मानेपनि हिजो आज महिनावारिको बारेमा छात्राहरु खुलेर कुरा गर्न सक्ने भएको र चाहिएको बेला प्याड माग्ने गरेको विद्यालयहरुले जनाएका छन् । विरेन्द्र माध्यमिक विद्यालय गर्पाका प्रधानाध्यापक डिल बहादुर नेपालिले महिला शिक्षक नभएको बेला सरहरु संग पनि छात्राहरुले प्याड मागेर प्रयोग गर्नेगरेको जनाए । यस्तै हाल सम्म भवानी माध्यामिक विद्यालय सिनवाङ, छाँयानाथका एक सय २० भन्दा बढी छात्राहरुले प्याड प्रयोग गरेको शिक्षिका मिना घर्तीले जनाईन् ।
तर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरका निमित्त प्रधानाध्यापक दामोदर शर्माले स्थानीय सरकारले निःशुल्क प्याड वितरणमा मात्रै भन्दा पनि प्याड निर्माण गर्न समेत सिकाउनुपर्ने धारणा राखे । उनले भने, ‘विद्यालयमा उपलब्ध गराइएको स्यानेटरी प्याड स्कुल आउदा समस्या भएमा प्रयोग गर्ने हो, छात्राहरु घर बस्दा गाउँमा प्याड उपलब्ध नहुन सक्छ । यस्तो अवस्थामा किशोरीहरुलाई प्याड निर्माणको लागि पनि कार्यक्रम बनाउनुपर्छ ।’ यस्तै कालिका मावि कपुरकोटका प्रअ चुडामणि केसीले आधारभुत तहका विद्यालयमा अध्ययन गर्ने कक्षा ६, ७ र ८ कक्षाका छात्राहरुलाई पनि प्याड उपलब्ध गराउनुपर्ने बताए ।
बुधबार गाउँपालिकामा आयोजित प्याड वितरण कार्यक्रममा कपुरकोट ३ का वडाध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले बोल्दै विद्यालय गइरहेका किशोरीहरूको स्वास्थ्य र शिक्षामा यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे । महिनावारी र त्यो बेला गर्नुपर्ने सरसफाइ र स्वास्थ्यका लागि अझ धेरै काम गर्नुपर्ने आवश्यकता रहेको सिनियर अ.हे.व देवेन्द्र कुमार सेनको भनाई छ । विद्यालयहरूमा प्याड प्रयोग गरेपछि फाल्नका स्थान र अन्य प्रबन्ध नहुँदासम्म यो कार्यक्रमले जुन उदेश्य लिएको छ, त्यो पुरा हुन नसक्ने भएकाले सम्बन्धीत विद्यालयहरुलाई यस विषयमा जिम्मेवार पुर्वक व्यवस्थापनको पाटोमा काम गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
सबै वडा र प्रहरी चौकीमा विपद् ब्यवस्थापन सामग्री
यसैविच विपद् जोखिम न्युनिकरणका लागि भन्दै कपुरकोट गाउँपालिकाले ६ वटै वडा र प्रहरी चौकीमा विभिन्न सामग्रीहरु उपलब्ध गराएको छ । स्थानीय तहदेखि नै विपद् न्यूनीकरणमा भूमिका खोजिने अवधारणा अनुरुप विपद् ब्यवस्थापनका सामग्रीहरु हस्तान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जनाए । गाउँपालिकाले उपलब्ध गराएका सामग्रीहरुमा आगो निभाउने उपकरण, हाते ग्रेण्डर मेशिन, हेलमेड, ज्याकेट, पञ्जा, गैती, ब्याल्चा, हथौडा, स्टे«चर, खुर्पा, सप्पल, घन लगाएत रहेका छन् ।
प्रकोपको जोखिम कम गर्ने, क्षति घटाउनेलगायतका पूर्वतयारीका उपायमा ध्यान केन्द्रित गरिएको विपद् ब्यवस्थापन समितीका संयोजक बालाराम खड्काले जनाएका छन् । ‘हामीले प्राकृतिक प्रकोपलाई पूर्ण रूपमा रोक्न नसके पनि पूर्वतयारी र सावधानी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सक्छौँ भन्ने कुरा बुझेका छौँ,’ उनले भने, ‘त्यसैले यस वर्ष समयमै सम्बन्धीत निकायमा विपद् ब्यवस्थापनका लागि प्रयोग हुने सामग्री उपलब्ध गराएका छौँ र विपद् ब्यवस्थापनका लागि सचेतना पनि फैलाईरहेका छौँ ।’