घोराही, भारतीय विस्तारवाद तथा सिमा अतिक्रमणको विरोधमा देशभर विरोध भईरहेको बेला दाङका विद्यार्थीहरुले पनि विरोध प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, पिम्पियाधुरा लगाएतका नेपाली भूभाग भारतले हालै सार्वजनिक गरेको नक्सामा राखिएको देखिएको छ । स्वाधीन नेपालमाथि ठाडो हस्तक्षेप गर्दै नेपाली भूमि आफ्नो नक्सामा गाभेको विरोधमा श्री माध्यमिक विद्यालय घोराही रझेनामा अध्ययनरत विद्यार्थीहरुले सोमबार घोराहीमा शान्तिपूर्ण प्रर्दशन निकालेका थिए । उनीहरुले भारत सरकार होशियार,नेपाली भूमि मिच्न पाईदैन्, लिपुलेक हाम्रै हो जस्ता चर्काे नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले भारत विरुद्धको कदमको विरोध प्रर्दशन गर्दै स्वाधीन, अखण्ड नेपाली भूमि फिर्ता गराउन सरकारलाई दवाव दिएको बताए । उनीहरुले नेपाल सरकारलाई यस विषयमा अविलम्ब कुटनीतिक पहल गरी समस्या समाधान गर्न र नेपाली भूभाग फिर्ता भएको जानकारी नेपाली नागरिक सामु गराउन माग पनि गरे । राष्ट्रियताका सवालमा कोही कसैसँग कुनै पनि सम्झौता हुन नसक्ने भन्दै भारतको गलत कार्यको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराइएको कानून संकायमा अध्ययनरत छात्रा अमृता सापकोटाले बताईन् ।
बजारको मुख्य चोक हुँदै निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । उक्त विरोध र्यालीमा शिक्षकहरु सुदीप गौतम, अच्युतकुमार न्यौपाने, विराज डिसी, इन्दु बस्नेतलगायतको सहभागीता रहेको विद्यार्थी लक्ष्मण महताराले बताए । विद्यार्थीको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई भेट गरी राष्ट्रियताको सवालमा सबै नेपाली नागरिकको ऐक्यवद्धता रहेकाले सरकारलाई कुटनीतिक पहल गरी नेपाली भूभाग फिर्ताको वातावरण चाँडो मिलाउन ज्ञापन पत्र बुझाउँदै अनुरोध गरे । भारतले एक पक्षीय ढंगबाट जारी गरेको नक्सा कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै ऐतिहासिक दस्तावेज, प्रमाणका आधारमा कुटनीतिक ढंगबाट नेपाली भूमि फिर्ता गर्न सरकारसँग माग गरिएको छ । विद्यार्थीहरुबाट प्राप्त ज्ञापन पत्र तालुक निकायमा पठाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।