तुलसीपुर, २ मंसीर : दाङको तुलसीपुरबाट नेपालगञ्ज जादै गरेको यात्रुवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । तुलसीपुरबाट यात्रु लिएर नेपालगञ्ज जादै गरेको ना ५ ख ६४४९ नम्वरको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा दुर्घटना भएको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँके जनाएको छ ।
घाईते मध्ये दुई जनाको अवस्था गम्भिर, एक जनाको अवस्था मध्यम रहेको छ भने अन्य घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । गम्भिर घाईते हुनेमा दाङको दंगीशरण गाउँपालिका वडा नम्वर ६ बस्ने विष्णु कुमारी नेपाली र रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर १२ बस्ने ५३ वर्षिय दल बहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस्तै अन्य घाईते हुनेमा तुलसीपुर आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेत लगाएतका रहेका छन् । गम्भिर घाईते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ भने अन्य घाईतेहरु सामान्य उपचार पछि घर फर्किसकेको प्रहरीले बताएको छ ।