दाङ,मंसिर २ : नेपाल रेडक्रस सोसाइटी दाङले आइतबार देखि रगतको मूल्य बढाउनका लागि गरेको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार भएको सहमति पछि रगतको मूल्य तत्कालका लागि नबढाउने सहमति भएको हो ।प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको उपस्थितिमा भएको छलफलमा रक्तसंचार केन्द्रले विरामीलाई रगत उपलव्ध गराउँदा एक हजार रुपैया लिने निर्णयलाई स्थगित गर्ने सहमति छ । रक्तदाताले निशुल्क रुपमा दिने रगतलाई व्यवसायको विषय बनाएको भन्दै नेपाल स्वयमसेवी रक्तदाता समाज दाङले जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका लगायतका निकायको ध्यानाकर्षण गराएको थियो ।जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा रेडक्रस दाङका सभापति नारायण आचार्यले कर्मचारीलाई दिनुपर्ने रकम अपुग भएकाले रगतको मूल्य बृद्धि गर्नु परेको बताए । उनले रगतको मूल्य नलिएको भन्दै रगत परिक्षणका लागि आवश्यक पर्ने केमिकलको मूल्य बढेको, कमर्चारीलाई तलव दिनु परेको कारणले गर्दा रकम अपुग भएको बताए ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी रिजालले रक्तदाताहरुले निशुल्क रुपमा दिएको रगत व्यापार भएको जस्तो देखिएकाले तत्कालका लागि मूल्य बृद्धि नगर्न आग्रह गरे । रक्त संचार केन्द्र संचालनका लागि आवश्यक पर्ने स्रोतको खोजीका लागि तत्कालै सर्वपक्षिय छलफलको आयोजना गरिने पनि उनले बताए । साथै नेपाल स्वयम सेवी रक्तदाता समाज दाङका सल्लाहकार के वि मसालले रक्तदाताले निशुल्क रुपमा दिएको रगत विरामीलाई पनि निशुल्क रुपमा नै उपलव्ध गराउनुपर्ने बताए । उनले रेडक्रसले रक्तदातालाई उत्प्रेरणा दिने खालका कुनै पनि कार्यक्रम संचालन नगरेको, रक्तदातासंग समन्वय नगरेको भन्दै रगतलाई व्यापारको विषय बनाउन नहुने समेत बताए । मानविय सेवामा लागेको रेडक्रसले अन्य स्रोत खोजेर भएपनि विरामीलाई रगत निशुल्क रुपमा उपलव्ध गराउनुपर्ने उनले बताए । रक्तदाता समाजका अध्यक्ष जितबहादुर केसीले पनि रेडक्रसले मूल्य बृद्धि गरेर विरामीलाई मर्कामा पारेको बताए ।
स्थानीय पालिकाहरुसंग समन्वय गरेर भएपनि स्रोतको खोजी गर्नुपर्ने उनको भनाई थियो । त्यसैगरी घोराही उमहानगरपालिकाले घोराही उपमहारपालिकाका सुत्केरी, सिकलसेल एनिमियाका विरामीका लागि आवश्यक पर्ने रकम उपलव्ध गराउने निर्णय हालै गरेको थियो । यसका बारेमा रक्तसंचार केन्द्रसंग सहमति भइसकेको छ । स्थानीय पालिकाहरु रक्त संचार केन्द्रलाई सहयोग गर्न तयार रहेको समयमा एकतर्फि रुपमा एक पोइन्ट रगतमा दुई सय रुपैया बृद्धि गरेर एक हजार रुपैया पुराएपछि नेपाल स्वयमसेवी रक्तदाता समाजले विरोध गरेको थियो ।