तुलसीपुर, निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार हरुलाई आइतबार चुनाव चिन्ह प्रदान गरेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दाङसहित ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको हो । दाङको घोराही उपमाहनगरपालिका वडा नम्बर १६को वडा अध्यक्ष पदको उपनिर्वाचनमा ५ वटा राजनीतिक दल तथा २ जना स्वतन्त्र गरी कुल ७ जनाको बीचमा प्रतिष्पर्धा हुन लागेको छ ।
आयोगले वडा नम्बर १६ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई सूर्य, नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डिसीलाई रुख, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश केसीलाई गाई, समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनलाई पाँच औला भएको चिन्ह र मंगोल नेशनलका उम्मेदवार पहलमान आले मगरलाई कुखुराको भाले चुनाव चिन्ह प्रदान गरेको छ । यसैगरी , स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार जगलाल चौधरीलाई हात मिलाएको चुनाब चिन्ह प्रदान गरिएको छ भने अर्का स्वतन्त्र उम्मेदवार समीर वलीलाई चिल चुनाब चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए ।
आयोगले उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेसँगै अहिले उनीहरू औपचारिक रुपमा मतदाताको घरदैलोमा तथा चुनावी प्रचारप्रसारमा खटिएका छन् । वडा नम्बर १६ मा ४ हजार ४ सय ५३ मतदाता रहेको निर्वाचन आयोगको कार्यालय घोराहीले जनाएको छ । उक्त निर्वाचनका लागि २ मतदान स्थल र ५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृत खड्काले बताए।