तुलसीपुर, सरकारले प्रतिबन्ध लगाएको नेकपा विप्लवका नेता तथा कार्यकर्ता पछिल्लो समय दाङबाट धमाधम पक्राउ परिरहेका छन् । जिल्लामा सुरक्षा दृष्टिकोणले पनि सो समूहलाई प्राथमिकतामा राखेर सुरक्षा तैनाथी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले बताउने गरेको छ । अहिले जिल्लामा दुई स्थानमा उपनिर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा विप्लवका नेता तथा कार्यकर्ताहरुको पहुँच रहेका स्थान तथा सम्भावित क्षेत्रमा सुरक्षा निगरानी चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । उनले भने, ‘भुगोलका हिसावले पनि दाङका कतिपय स्थानमा सुरक्षा व्यवस्थापनमा चुनौति देखिनु स्वाभाविक हो तर हाम्रा उपस्थितिले उनीहरु (विप्लव) लाई नियन्त्रणमा लिने र कुनै पनि दुर्घटना हुनबाट रोक्ने काम भई रहेको छ ।’
सुरक्षा समन्वय समितिले गर्ने काम अहिले प्रदेश सभा सदस्य र वडा अध्यक्ष पदको निर्वाचन लक्षित भएपनि समग्र जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्ने सवालमा दाङ प्रहरी पूर्ण प्रतिवद्ध भई लागेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । शुक्रबार र शनिबार पनि २ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शान्तिनगर गाउँपालिका बडा नं. १ पटेरीखोलाका ३० वर्षीय नेकपा विप्लव समूहका सेक्सन अध्यक्ष प्रकाश बुढा मगरलाई दाङ प्रहरीले पक्राउ गरेको हो । उनलाई शुक्रबार बेलुकी एक्लै हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । पक्राउ परेको बुढा मगरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा राखिएको छ । यस्तै शनिबार दउिँसो सवा १ बजेतिर बबई गाउँपालिका ५ ट्वाङखोलाबाट बबई गाउँपालिका एरिया ईन्चार्ज वर्ष ३२ का निम बहादुर डाँगी (रक्तिम)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । बबई गाउँपालिका वडा नं. ५ बबपुरका डाँगीलाई उनी सवार प्रदेश ३ ०२००७ प १२०४ नं. को मोटरसाइकलसहित पक्राउ गरि आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले बताए ।