घोराही, घोराही उपमहानगरपालिकाले साढे १५ क्विन्टल विभिन्न अन्नका मूल विउ कृषकहरुलाई अनुदानमा दिएको छ । उपमहानगरको कृषि विकास शाखाले गहुँ, तोरी र मसुरो गरी १५ क्विन्टल ६० किलो तीन वटा विउ उत्पादक समुहलाई ५० प्रतिशत अनुदानमा दिएको हो । गौतम जातको गहुँ ९ क्विन्टल ९० किलो, तोरी ३ क्विन्टल ३० किलो र मसुरो २ क्विन्टल ४० किलो मूल विउ किसानलाई दिएको शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए ।
वडा नम्बर १ को जैविक विविधता सहकारी संस्था, वडा नम्बर ९ को बागेश्वरी विउ उत्पादक सहकारी संस्था र वडा नम्बर २ मा रहेको शिवशक्ति विउ उत्पादक कृषक समूहलाई अनुदानमा ति अन्नका बिउहरु दिईएको हो ।गहुँको प्रति किलो ७५, तोरी १ सय २५ र मसुरो १ सय ४० रुपैयाँ किलो पर्ने र ५० प्रतिशत अनुदानमा किसानलाई दिईएको शाखा प्रमुख खनालको भनाई छ ।
साथै कृषि शाखाले किसानहरुलाई ५० प्रतिशत अनुदान मै १ सय ५० क्विन्टल गहुँ वितरणको प्रकृया सुरु गरेको छ । कृषि पेशा प्रति आकर्षित नगरले किसानलाई अनुदानमा मूल विउ उपलब्ध गराएको जनाएको छ ।।