दाङ प्रहरीलाई ठूलाे सफलताः एकै पटक परिमाणमा अत्याधुनिक हतियार बरामद

Author Logo..
२०७६ कार्तिक ३० गते शनिवार

घोराही, नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुले दाङबाट कपिलवस्तु स्थानान्तरण गर्न थालिएको अत्याधुनिक हतियार छाडेर भागेका छन् । प्रहरीले फेला परेको हतियार तथा गोली गठ्ठालाई बेवारिसे अवस्थामा फेला परेको उल्लेख गरेको छ । प्रहरीले निरन्तर निगरानीमा राखेको र छापा हान्न प्रहरी पुगेको सूचना पाउना साथ विप्लवका कार्यकर्ता हतियार छाडेर भागेको प्रहरीले दाबी गरेको छ ।
प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे क्षेत्रको एक खाली गोठमा लुकाएर राखेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ गान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी विनोद बिक्रम शाहले जानकारी दिए ।
सुटकेश भित्र पात पतिङ्गरले छोपेको अवस्थामा एसएमजी राइफल भेटिएको प्रहरीले जनाएको छ । कुन प्रयोजनका लागि कहाँ लग्न थालिएको हो भन्ने बारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । दाङमा प्रहरीले यसअघि राजपुर–४ मगरैनाबाट केही दिन अघि विप्लवका केन्द्रीय नेतासहित २१ जनालाई पक्राउ गरेको थियो । केन्द्रीय नेता पक्राउ परेको केही समयपछि प्रहरीले ठूलो मात्रामा हतियार फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार