तुलसीपुर : शिक्षा मात्र नभई विभिन्न सामाजिक क्षेत्रमा समेत सेवा गर्दै आएको दाङको तुलसीपुरमा रहेको गोरखा माध्यामिक विद्यालयले तुलसीपुर ६ को बरपिपल टोलमा १० हजार लिटर बराबरको खानेपानी टंकी निर्माणमा सहयोग गर्ने भएको छ । विद्यालयका कक्षा ११ र १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुले उठाएको पैसाले वरुवागाउँ रहेको उक्त टोलको दुर्गादेवी मन्दिरमा खानेपानी टंकी निर्माणमा आर्थिक सहयोग गर्ने विद्यालय जनाएको छ । शुक्रवार विद्यालयले एक कार्यक्रम गरी यस्तो बताएको हो ।
गोरखा मावि तुलसीपुरका प्राचार्य विजयमान जिएमको अध्यक्षतामा तथा राप्ती बबई क्याम्पस सञ्चालन समितिका अध्यक्ष तथा शिक्षाविद् विष्णु कुमार देबकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले विद्यार्थीको यो कार्य एकदमै राम्रो भएको भन्दै विद्यार्थीहरुले किताबको ज्ञान सँगै सामाजिक कार्यप्रति पनि चासो दिएकोमा प्रशंसा गरे ।
त्यसैगरी कार्यक्रममा दुर्गा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष लक्ष्मण धितालले विद्यार्थीहरुको यो सहयोग हाम्रा लागि ठुलो भएको भन्दै विद्यार्थीको खानेपानी प्रतिको चिन्तालाई हामी यथासक्य चाडै खानेपानी टंकी निर्माण कार्य थालनी गर्ने बताए ।
यता विद्यालयका प्राचार्य विजय जिएमले विद्यार्थी तथा स्कुलले सामाजिक क्षेत्रमा धेरै सहयोग गरेको उल्लेखनीय कार्य गरेको भन्दै, हामीले सहयोग गरी बनाएका संरचनाहरु सम्बन्धित निकायले पनि निगरानी गरी संरक्षण गर्न सुझाव समेत दिए । उनले केही समय पहिला तुलसीपुर — सल्यान सडकमा दुर्घटना रोक्नको लागी मिरर ऐना राखेको भएता पनि त्यहाँ कसैले चासो नदिएका कारण फुटालेर फालेकोमा दुख ब्यक्त गरे । कार्यक्रमको सहजीकरण व्यवस्थापन संकायका संयोजक डम्बर डाँगीले गरेका थिए ।