माग सम्बोधन नभए कडा आन्दोलनः निर्माण व्यवसायी

Author Logo..
२०७६ कार्तिक २७ गते बुधवार

कात्तिक २७, २०७६
घोराही ,सार्वजनिक खरिद नियमावलीमा पटक पटक संशोधन गरिएपनि निर्माण व्यवसायीहरुको माग सम्बोधन नभएको भन्दै दाङ निर्माण व्यवसायी संघले आन्दोलनको चेतावनी दिएको छ । बुधवार संघको सचिवालयमा पत्रकार सम्मेलन गर्दै दाङ निर्माण व्यवसायी संघका अध्यक्ष ईश्वर पुनले विभिन्न सरोकारवाला निकायबाट निर्माण व्यवसायीहरुको मागमा आश्वासन बढी हुने तर माग सम्बोधन नभएकाले आन्दोलनमा जानुको विकल्प नरहेको स्पष्ट पारे ।
गत साउन १६ गते नेपाल राजपत्रमा तेस्रो पटक संशोधन गरी प्रकाशित सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ मा केही सकारात्मक प्रावधान रहेतापनि तिनको कार्यान्वयन नभएको संघले जनाएको छ । विशेष गरी म्याद थप तथा बैंक क्रेडिट लाइनमा देखिएको समस्याका कारण समग्र निर्माण क्षेत्र प्रभावित हुँदा देशको अर्थतन्त्रमा नै समस्या देखिएको पत्रकार सम्मेलनमा अध्यक्ष पुनले बताए ।
उनले निर्माण परियोजनाहरु समयमै नसकिनुमा निर्माण व्यवसायीको भन्दा पनि नियमनकारी निकायको बढी दोष रहेको भन्दै संघका महासचिव शोकबहादुर रोकाले निर्माण व्यवसायीहरु अहिले पनि विविध समस्या झेल्न बाध्य रहेको बताए । अधिकांश परियोजनामा क्षमता भन्दा बढीको काम लिँदा समस्या देखिएको जानकारी दिँदै महासचिव रोकाले समस्या समाधानका लागि नेपाल निर्माण व्यवसायी महासंघले दिएका सुझावहरु सम्बन्धित निकायहरुबाट कार्यान्यन नहुनु दुर्भाग्यपूर्ण भएको बताए ।
सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीहरुलाई अनिवार्य रुपमा छलफलमा सहभागी गराइनु पर्ने उनीहरुको धारणा थियो । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली, २०७६ मा म्याद थपको स्पष्ट व्यवस्था हुँदा हुँदै पनि कार्यान्वयन नहुँदा राज्यलाई नै ठूलो घाटा भइरहेको छ, महासचिव रोकाले भने ।
बैंक क्रेडिट लाइनको नयाँ ढाँचा अनुसार बैङ्क कमिसन बापत क्रेडिट लाइन रकमको ०.६ देखि १.४ प्रतिशतसम्म वार्षिक रुपमा कमिसन लिई केही बैङ्कहरुले जारी गरिरहेकोले सो कमिशनमा अत्याधिक खर्च हुन गई ठेक्का प्रक्रियामा भाग लिनको लागि बैंक कमिशनमा मात्र ठूलो धनराशी खर्च लाग्ने अर्का वरिष्ठ उपाध्यक्ष पदमराजको शर्माको भनाई छ । यसैबीच संघले आफ्ना १६ बुँदे मागका विषयमा बुधवार नै प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले व्यवसायीहरुको माग सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाए । ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष र्ईश्वर पुन, वरिष्ठ उपाध्यक्ष पदमराज शर्मा, प्रथम उपाध्यक्ष सुरेश पोख्रेल, वितीय उपाध्यक्ष बीरबहादुर घर्ती, कोषाध्यक्ष सुदर्शन श्रेष्ठ लगाएत निर्माण व्यवसायीको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार