घोराही, राष्ट्रिय आर्थिक गणना २०७५ को नजिता सार्वजनिक भएको छ । जिल्ला तथ्यांक कार्यालय दाङले उद्योग वाणिज्य संघसंग समन्वयमा कार्यक्रम गरी आर्थिक गणनाको नतिजा सार्वजनिक गरेको हो । आर्थिक प्रतिवेदनले जनाए अनुसार दाङमा आर्थिक क्रियाकलाप गर्ने निकायको संख्या १४ हजार ४ सय २१ पुगेको छ । नेपालभर ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठानहरु रहेको तथ्यांकले देखाएकोमा दाङमा प्रतिष्ठान खुल्ने क्रम जारी रहेको देखिएको छ । स्थानीय तह अनुसार सबै भन्दा बढि आर्थिक प्रतिष्ठानहरु घोराही उपमहानगरपालिकामा रहेको छ । घोराहीमा ५ हजार २ सय १९, तुलसीपुरमा ३ हजार ६ सय ८८, लमही नगरपालिकामा १ हजार ३ सय ४३ रहेका छन् । सबै भन्दा कम देउखुरीको राजपुर गाउँपालिकामा ३ सय २३ जना आर्थिक प्रतिष्ठान खुलेको उल्लेख छ ।
सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाईको विवरण गणनामा समावेश गरिएको छ । २०७५ सालको बैशाख १ गते देखि जेठको ३१ गतेसम्म २ महिना लगाएर गरिएको गणनामा सडक पेटीमा राखिएकासाना पसलदेखि अरवौँको लगानीमा सञ्चालित उद्योग प्रतिष्ठान समेत दायरामा ल्याइएको जिल्ला तथ्यांक कार्यालय दाङका तथ्यांक अधिकृत तुलसीराम पोख्रेलले बताए ।
दाङमा सञ्चालनमा रहेका १४ हजार ४ सय २१ वटा प्रतिष्ठानमा ४७ हजार ५ सय ९८ जनशक्ति संलग्न रहेको तथ्यांकमा उल्लेख छ । तर, जिल्लामा सञ्चालन भएका आर्थिक प्रतिष्ठानहरु मध्य झण्डै आधा दर्ता नभएको भेटिएको छ । ७ हजार ९ सय ३ वटा निकाय मात्र दर्ता भएको र बाँकी ६ हजार ५ सय १८ वटा विना दर्ता सञ्चालनमा भैरहेको उनले बताए ।
जिल्लामा दर्ता गरेर सञ्चालनमा रहेका कृषि सम्बन्धी आर्थिक निकायहरुको संख्या २ सय ५७ मात्र रहेको छ । आर्थिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा जिल्लास्थित उद्योग प्रतिष्ठानमा आवद्ध व्यक्ति, व्यवसायी, विभिन्न कार्यालयका प्रमुखहरुको समेत सहभागीता रहेको थियो । भने, खनिजमा २३ वटा, उद्योगधम्दामा १ हजार ६ सय ४३ वटा, व्यापार क्षेत्रमा ८ हजार ६ सय ३९ वटा निकायहरु रहेको आर्थिक गणनाले देखाएको छ ।