दाङ, यही मंसिर १४ गते हुन लागेको प्रदेश सभा निर्वाचन क्षेत्र ३ (२) को उपनिर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई सोमबार निर्वाचन चिन्ह प्रदान गरिएको छ । दाङको प्रदेश सभा निर्वाचन क्षेत्र ३ (२) मा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले चुनाव चिन्ह प्रदान गरेका हुन् । उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएसँगै उनीहरु आआफ्नो प्रचारप्रसारमा अझ व्यस्त भएका छन् । निर्वाचन हुने क्षेत्रमा अहिले चुनावी सुरक्षा पनि तैनाथी अवस्थामा राखिएको जिल्ला सुरक्षा समन्वय समितिले जनाएको छ ।
उपनिर्वाचन अनुगमन समितिको बैठक सम्पन्न
निर्वाचन सभ्य, भव्य र मर्यादित रुपमा सम्पन्न गर्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार उपनिर्वाचन अनुगमन समितिको बैठक बसेको छ । स्थानीय तह उपनिर्वाचन घोराही उपमहानगरपालिका वडा नम्बर १६को वडा अध्यक्ष पदको निर्वाचनका निर्वाचन अधिकृत प्रेम खड्काको अध्यक्षता तथा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाको प्रमुख आतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको विशिष्ट आतिथ्यतामा बैठक बसेको हो । बैठकमा निर्वाचन सफल रुपमा सम्पन्न बनाउन जिल्लास्थित निर्वाचनका सहभागी भएका राजनीतिक दललगायत सरोकार सबै सहभागी थिए । निर्वाचन मर्यादित तथा भयरहित रुपमा सम्पन्न गराउन साना दल भन्दा ठूला दलबाट आचार संहिता उल्लंघनको सम्भावना बढी हुने भएकाले त्यस तर्फ ध्यान दिन सहभागीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण गराएका थिए ।
छलफल पछि मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आचार संहिता अनुरुप प्रचार प्रसार गर्न सबैलाई अनुरोध गरे । मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ अन्तर्गत रही प्रचारप्रसारमा लाग्न अनुरोध गरेका छन् ।