सच्चा कम्युनिष्टहरु एक ठाउँमा उभिनु पर्ने बेला आयो : बैद्य

Author Logo..
२०७६ कार्तिक २५ गते सोमवार

कात्तिक २५,
घोराही, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशको समग्र शासन व्यवस्थाबाट आम नागरिकले परिवर्तनको महसुस गर्ने गरी अघि बढ्न सच्चा कम्युनिष्टहरु एक ठाउँमा उभिनु पर्ने बेला आएको बताए । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश ५ को प्रथम अधिवेशनको सोमबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव वैद्यले सबै क्रान्तिकारीवादी शक्तिहरु एक ठाउँमा उभिएर नयाँ ढंगबाट अघि बढ्नुको विकल्प नभएको बताए । उनले भने,अव हामीहरु नयाँ ढंगले एक ठाउँमा उभिएर खुला रुपमा बहस गरेर अघि बढेमा नेपालको कम्युनिष्ट आन्दोलन सफल हुनेछ । देशको शासन व्यवस्थामा परिवर्तन आए पनि यो परिवर्तन पूर्ण रुपमा सफल भएको छैन । यसमा केही असन्तुष्टि आक्रोश र पुरातन पुनरावृत्तिको अवशेषको निरन्तरता छ । त्यसैगरी उनले जनताको आँखामा आशा र सपनाको चाङ लगाएर पनि अहिलेसम्म कम्युनिष्ट सरकारले अनुभूति गर्ने गरी उल्लेख्य केही गर्न नसकेको आरोप लगाए । किसान, मजदुर, उत्पीडित महिला, जनजाति लगाएत पिछडिएका सम्पूर्ण वर्ग र समुदायको पक्षमा सँधै रहनु पर्नेमा वर्तमान सरकारले आफ्नै झोली भर्न उद्यत रहेको तर्क गरे । उनले भने, नारा सुखी नेपाली समृद्ध नेपालको छ तर, देशको प्राकृतिक श्रोत साधन, राज्यकोषको ढुकुटी दोहन गर्ने अनि बेरोजगार युवाहरुको पक्षका केही नगर्ने हो भने कसरी देश बन्छ ?नेता वैद्यले उनले प्रश्न गरे । त्यसैगरी उनले भने, राष्ट्रिय स्वाधिनताका सवालमा कुनै पनि राजनीतिक दलसँग कार्यदिशा मिल्छ भने हामी कार्य एकता गर्न तयार छौं, चाहे त्यो नेपाली कांग्रेस नै किन नहोस् । त्यसैगरी उनले अहिले बढी चर्चामा रहेको लिपुलेक लगाएत सीमाको विषयमा सरकारले आफै गल्ती गरेको तर्क गरे । आफ्नो भूमि मिचिँदासम्म पनि सामान्य ढंगले कोही रिसाई हाल्छ की भन्ने जसरी प्रस्तुत हुनु बिडम्बना भएको भन्र्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेर राष्ट्रिय धारणा बनाउन खोजे जस्तो मात्रै गरेको जिकिर गरे । संसदीय व्यवस्थामा अटाएका राजनीतिक दलहरुलाई मात्रै समावेश गरेर आफु र अरु पार्टीलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि पोखे । भारतीय विस्तारवादको प्रतिवादमा उत्रिन सबै राष्ट्रभक्त नागरिकलाई अपिल पनि गरे । देशमा स्थायी शान्ति र दीगो विकासका लागि आफै प्रतिवन्ध लगाएको विप्लवसँग वार्ताको माध्यमबाट चाँडो भन्दा चाँडो निकास खोज्न र सबै कम्युनिष्टको साझा मञ्च स्थापना गर्न पनि उनले सुझाव दिए । कार्यक्रममा स्थायी कमिटि सदस्य रामसिंह श्रीषले वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेकपा नाम मात्रको कम्युनिष्ट पार्टी रहेको बताए । अहिलेको सरकार कम्युनिष्ट हुँ भन्नेहरुको भएपनि व्यवहारिक रुपमा त्यसो नदेखिएको उनले आरोप लगाए । उनले भने, अहिलेका कम्युनिष्ट हुँ भन्नेहरुले श्रृजनात्मक विकासका नाममा माक्र्सवादको सिद्धान्त छाडेर पूँजीवादी व्यवस्थामा रुमल्लिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार