तुलसीपुर , दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ मा लगाएको ताला सोमबारको मितिले २४ घण्टा भित्र नखोलिए उपमहानगरपालिकामा तालाबन्दी गरी दिने १० जना वडा अध्यक्षहरुले चेतावनी दिएका छन् । सोमबार बिहान तुलसीपुरमा भेला भएका १० वटै वडा अध्यक्षहरुले वडा नम्वर १३ कार्यालयमा लगाएको ताला बार्ताको माध्यमबाट समाधान गर्न आह्वान गरेका छन् । नगरप्रमुखसँग बार्ता र सम्वाद गर्न वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर केसीको संयोजकत्वमा वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकाल र वडा नम्वर १० का अध्यक्ष कुमार लामिछाने सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरीएको वडा नम्वर १३ का अध्यक्ष डम्वरबहादुर न्यौपानेले बताए । आइतबार नेकपाका स्थानिय नेताहरुका नेतृत्वमा लगाएको तालाका कारण सेवा प्रभाबित भएको छ । कर्मचारीहरु बाहिरै बस्न बाध्य भएका छन्, भने सेवाग्राहीहरु परिसरमा अन्यौलमा रहेका छन् । राप्ती लोकमार्गदेखि पनालीबोट सम्मको सडक निर्माणका लागि एकलौटरी रुपमा वडाध्यक्षले काम गर्न खोजेको र त्यसैले हामीले सबै उपभोक्तालाई समेट्ने गरि उपभोक्ता समिति गठन गर्न माग गर्दा अटेर गरेपछि वडा कार्यालयमा ताला लगाएको नेकपाका नगर कमिटि सदस्य मोहन पौडेलले बताए । । उक्त निर्माणको लागी गत बर्ष नै वडामा ४० लाख क्रमागत बजेट परेको थियो । अहिले उक्त वडामा परेको बजेटको सम्झौता पनि रोकिएको छ । स्थानिय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ मा नेपाली काग्रेसबाट उम्मेदावरी दिएका वडा अध्यक्ष र ४ जना वडा सदस्यहरु निर्वाचीत भएका थिए ।