दाङमा निर्वाचन हुने कुल ३४ मतदान केन्द्रमा अहिले चुनावी सरगर्मी बढेको छ । २१ गते बिहीबार उम्मेदवारी दर्ता भएसँगै दाङ निर्वाचनमय भएको छ । दलहरू तथा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।
२१ गते बाजागाजासहित दलबललिएर उम्मेदवारी गराएका राजनीतिक दलका उम्मेदवार र केही स्वतन्त्र उम्मेदवारहरुको २३ गते शनिबार ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरिएको थियो । जाँचबुझ गर्दा सबैका विवरण ठीक रहेकाले सोही अनुसार मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘उम्मेदवारहरुको सम्पूर्ण कागजात र विवरण रुजु गर्ने र ठीक भए नभएको हेर्ने काम सकाएका छौं, सबैको विवरण ठीक छन् ।’ उनले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन चाहेमा उम्मेदवारी फिर्ता लिन सक्ने समय दिइएको उनले बताए । सो समयमा ईच्छुक उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने छन् । त्यसपछि दिउँसो २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी तयारी भएको उनले बताए ।
अन्तिम नामावली प्रकाशन भएसँगै २५ गते सोमबार मनोनयनमा परेका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत थापाले बताए । निर्वाचन आयोगबाट निर्वाचन अधिकृतको कार्यालय मातहत अनुगमन अधिकृत राखिने भएपनि यस पटकको निर्वाचनमा मुख्य निर्वाचन अधिकृतलाई नै सबै अधिकार दिइएको छ । उपनिर्वाचन अनुगमन समिति भनिएको सो समितिले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्नेछ । सो समितिको बैठक पनि यही कार्तिक २५ गते बस्न लागेको छ । बैठकमा राजनीतिक दलहरु पनि सदस्य भएको हुँदा सबैलाई सहभागी हुन निम्तो पनि गरिसकिएको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा सहभागी हुने मतदाता ७३ हजार १ सय ७२ जना रहेका छन् । प्रदेशसभा सदस्यलाई छान्न ६८ हजार ७ सय १९ जना र वडा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जनाले भोट हाल्न पाउने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।