तुलसीपुर उपमहानगरको शैक्षिक अवस्था सर्वेक्षण, अब शिक्षा सुधारमा लागौ ः नगरप्रमुख पाण्डे

Author Logo..
२०७६ कार्तिक २२ गते शुक्रवार

दाङ, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले शिक्षा सुधारमा लाग्नुपर्ने वताए । एक सर्वेक्षणले उपमहानगरपालिका भित्र रहेका ७० सामुदायिक विद्यालय र ६९ निजी विद्यालयको समग्र सिकाई प्रक्रिया निकै चिन्ताजनक अवस्थामा रहेको देखाएपछि उनले सो बताए । शुक्रवार तुलसीपुरमा भएको सर्वेक्षणको समिक्षा गर्दै नगरप्रमुख घनश्याम पाण्डेले उनले लगानीका हिसावले उपमहानगरपालिकाले कुनै पनि खालको सम्झौता नगर्ने वताउँदै शिक्षक र व्यवस्थापन समितिलाई पनि नयाँ सोचका साथमा अगाडि वढ्न आग्रह गरे । हाम्रो शिक्षाको सम्पूर्ण वडिको टेस्ट भएको छ अव सुधार्नमा एकमत भएर लाग्नुपर्ने देखिन्छ, उनले भने ।

तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य अवस्था सुधारिदै गएको बताउँदै अव शिक्षा सुधार्नका लागि पनि कटिवद्ध भएर लाग्ने उहाँले प्रतिवद्धता व्यक्त गरे । आगामी बर्षबाट शिक्षाको वजेट वृद्धि गर्दै लैजाने वताउँदै उनले नारा र भाषणमा मात्रै भन्दा पनि तथ्यांक र परिणाममा आधारित रहेर निष्कर्श निकाल्न अगाडि बढ्नुपर्नेमा जोड दिए । उपमहानगरपालिका भित्र रहेका ७० सामुदायिक विद्यालय र ६९ निजी विद्यालयमा गरिएको सर्वेक्षण समग्र सिकाई प्रक्रिया निकै चिन्ताजनक रहेको पाइएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत सामुदायिक विद्यालयका ९ हजार १ सय ५० र निजि विद्यालयमा अध्ययनरत १८ हजार ९ सय १६ विद्यार्थीमा उक्त सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकका ९ प्रतिशत छोराछोरी मात्रै सामुदायिक विद्यालयमा अध्यापन गर्ने गरेको पाइएको थियो । “९१ प्रतिशत शिक्षकहरुले आफ्ना वालवालिकाहरु निजी विद्यालयमा पढाउने गरेको पाइएको छ ” सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै टिच फर नेपालका अध्यक्ष शिशिर खनालले बताए ।

उनले सामुदायिक विद्यालयप्रति सरकारी कर्मचारी र शिक्षककै विश्वास कम देखिएको बताए । सर्वेक्षणमा किसानका छोराछोरी मध्ये ५० प्रतिशत सामुदायिक विद्यालयमा अध्यापन गरेको पाइएको छ । त्यसैगरी निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको सिकाई प्रक्रिया निकै नाजुक देखिन्छ । मुख्य गरेर गणित र अँग्रेजी विषयमा यस्तो सिकाई प्रक्रिया कम देखिएको हो । अध्ययनमा उल्लेख भए अनुसार सामुदायिक विद्यालयको अँग्रेजीको सिकाई उपलब्धि ०.७२ प्रतिशत हुँदा निजी विद्यालयको सिकाई उपलब्धि ७.६४ प्रतिशत देखिएको छ भने सामुदायिक विद्यालयको गणितको सिकाई उपलब्धि ०.६१ प्रतिशत हुँदा निजी विद्यालयको सिकाई उपलब्धि ५.५६ प्रतिशत पाइएको छ । नेपाली विषयको भने दुवैमा बराबर जस्तो देखिएको छ । सर्वेक्षणमा सामुदायिक र निजी गरेर तुलसीपुरका ६३ प्रतिशत विद्यार्थीहरुलाई पिटाइको मारमा परेको उल्लेख गरिएको ।

जसमध्ये ४८ प्रतिशत विद्यार्थीलाई घरमा, ५३ प्रतिशत सरकारीमा र ६८ प्रतिशत निजी विद्यालयमा पिट्ने गरिएको पाइएको छ । १ सय २० युवा स्वयम्सेवकहरुले तुलसीपुर क्षेत्रका सबै विद्यालयमा पुगेर मोवाईल एप्स मार्फत गरिएको सर्वेक्षणमा ३३ प्रतिशत विद्यार्थीहरु निजी विद्यालयमा ट्युसन पढ्ने गरेको पाइएको छ भने १० प्रतिशत विद्यार्थीहरु सरकारी विद्यालयमा ट्युसन पढ्ने गरेको पाइएको हो । सर्वेक्षणका क्रममा विद्यार्थीहरुलाई विभिन्न विषयमा प्रश्नहरु सोधिएको थियो । विद्यार्थीहरुले प्रश्नको जवाफ दिने क्रममा ३३ प्रतिशतले मात्रै पाठ्यपुस्तक वाहेकका पुस्तक अध्ययन गर्ने गरेको पाइएको थियो । जसमा ३८ प्रतिशत निजी विद्यालयका रहेका थिए भने २२ प्रतिशत सामुदायिक विद्यालयका रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार