दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Author Logo..
२०७६ कार्तिक १९ गते मङ्गलवार

अनलाइन राप्ती / आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दाङ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशसभा सदस्य र वडा अध्यक्षको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि आइतवार घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । नेपाल बार एशोसियसन दाङको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतले एक कार्यक्रमका विच औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

दाङमा निर्वाचन क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन थालेको छ । निर्वाचनको तयारी अनुसार दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै दाङमा निर्वाचनका गतिविधिहरु औपचारिक रुपमा सुरु हुने मुख्य निर्वाचन अधिकृत थापाले बताए । ‘कार्यालय स्थापनासँगै औपचारिक रुपमा जिल्लामा निर्वाचनका गतिविधिहरु सुरु भएका छन’,मुख्य निर्वाचन अधिकृत थापाले भने,‘अव निर्वाचनलाई कसरी सभ्य र भव्यसागै शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने भन्नेमा लाग्ने छौँ ।’ त्यसका लागि जिल्लामा राजनीतिक दल,सञ्चारकर्मीलगायतका क्षेत्रसँग छलफल समेत गर्ने उनले बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले निर्वाचनलाई शान्तिपूण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा तयारी समेत गरिसकेको बताउ । त्यसका लागि जिल्लामा ३४ निर्वाचन स्थललाई बर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाउने समेत बताए । जस अनुसार जिल्लामा ६ वटा स्थल अति संवेदनशिल, २६ वटा संवेदनशिल र दुई वटा स्थल सामन्य रहेको समेत प्रमुख जिल्ला अधिकारी रिजालले बताएका थिए ।

चुनावलाई जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्र नं. ३(ख) र घोराही उपमहानगरपालिका वडा नं. १६ मा ७३ हजार एक सय ७२ जना मतदाता रहेका छन । जसमा क्षेत्र नं. ३ (ख)मा ६८ हजार सात सय १९ जना र घोराही उपमहानगरपालिका वडा नं. १६ मा ४ हजार चार सय ५३ जना मतदाताहरु रहेका छन । क्षेत्र नं. ३ (ख) मा दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, १० र ११ नम्वर वडा गरि २५ वटा वडाहरु रहेका छन । दुई स्थानको निर्वाचनका लागि ३४ मतदान स्थल र ८२ केन्द्रहरु तोकिएको छ । जसमा निर्वाचन क्षेत्र नं. ३ (ख) मा ३२ निर्वाचन स्थल र ७७ केन्द्र र घोराही उपमहानगरपालिका वडा नं. १६ मा दुई मतदान स्थल र पाँच वटा केन्द्र निर्धारण गरिएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापालाई मुख्य निर्वाचन अधिकृत र घोराही उपमहानगरपालिका वडा नं. १६ को निर्वाचनका लागि उच्च अदालत तुलसीपुरका उपरजिष्ट्र प्रेम खड्कालाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार