नेपालकै दोस्रो लामो पुल, समय अगावै निर्माण कार्य सम्पन्न

Author Logo..
२०७६ कार्तिक १९ गते मङ्गलवार

सुमन केसी/दाङ नेपालकै दोस्रो ठूलो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८ सय ६० मिटर लम्बाई र साढे १० मिटर चौडाई, ढेड मिटर फुटपाथ रहेको उक्त पुल करिब एक अर्ब लगानीमा निर्माण पूरा भएको हो ।

अनक निर्माण सेवालाई आर्थिक बर्ष २०७२/०७३ मा निर्माण कार्य सुरु गर्नको लागि टेन्डर परेको थियो । आ.व. ०७६÷७७ भित्र पुल निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको र २०७३ मंसिर २२ गते पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हँुदा उक्त पुलको शिलन्यास गरिको थियो भने २०७३ चैत्र महिनाबाट पुल निर्माणको काम थालनी गरिएको थियो । २०७७ असार मसान्त भित्र काम सक्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको भएपनि सो समयभन्दा ८ महिना अगावै निर्माणको काम पूरा भएको उक्त पुलका इन्जिनियर सुदिप बस्यालले बताए । ‘पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो’ उनले भने ‘तर सम्झौता अवधी पूरा गर्नु आठ महिनाअघि नै हामीले काम पूरा गरेका छौँ ।

अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भईरहेको छ । उक्त पुलको आउँदो माघ महिनामा उद्घाटन हुने समेत तयारी भैरहेको छ । उक्त पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न त्यस क्षेत्रका बासिन्दालाई सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्ती पारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने सिसहनियाँ लक्ष्मी चौधरीले बताइन् । ‘पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो थियो । बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था नै हुँदैनथ्यो’, ‘भनेको बेला सवारीसाधन पनि नपाएर वारपार गर्न हैरान हुन्थ्यो । अब पुल निर्माण भएसँगै १५ मिनेटमा आवतजावत गर्न सकिने फुलकुमारी चौधरी भनाई छ ।’

त्यस ठाँउमा कुनैपनि बाधा व्यवधानहरु नआएको र पुल निर्माण सामग्री पर्याप्त मात्रामा समयमै उपलब्ध भएको कारण सँगसँगै स्थानीयबासीको अथक प्रयास र सहयोग पाएपछि पुल निर्माण कार्य समयमै सकिएको साइड इञ्चार्ज लक्ष्मण ढकालले बताए ।
पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्ने स्थानीयले विश्वास गरेका छन् । जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ । तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् । पुल निर्माण पश्चात कृषि क्षेत्रमा पनि निकै फाइदा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार