शिवु खनाल/टेकबहादुर पुन/लमही नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ । यद्यपी सो गाडीमा शान्ता चौधरी थिइनन् । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही–घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।
चालक रतन चौधरी सकुशल छन् । उनले सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताएका छन् । गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्जवल थपलियाले जानकारी दिए । सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।
बस पल्टिदा ४ घाईते
दाङको लमहीमा बस पल्टिदा ४ जना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बुमा बस पल्टिदा घाईते भएका ४ जनाको लमही अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ ।काठमाडौंबाट सुर्खेतका लागि हिँडेको ना ५ ख ११७२ नम्बरको बस पुर्बपश्चिम राजमार्गमा बिहान करिब साढे ५ बजे पल्टिएको हो । कुहिरो र घुमाउरो सडक भएका कारण बस पल्टिएको हुन सक्ने प्रहरी चौकी गोझेनाका प्रहरी सहायक निरिक्षक प्रेमबहादुर ओटले जानकारी दिए ।
दुर्घटनामा परी सुर्खेतकी २३ वर्षिया मिना बुच्चा मगर, वर्ष २८ का उदयपुर निवासी कमल तामाङ्ग, सुर्खेत निवासी बर्ष २५ का बल बहादुर रम्तेल र सुर्खेतकै बर्ष ३० का सुनिल ददै घाईते भएका छन् ।