घोराही, आगामी मंसिर १४ गते हुन थालेको उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका वडा नं १६ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेश केसीले चुनावी प्रचार अभियान तीव्र पारेका छन् । अघिल्लो पटकको निर्वाचनमा कांग्रेसको उम्मेदवार भन्दा दुई गुणा बढी मत प्राप्त गरेको नेकपाले यस पटकको उपनिर्वाचनमा पनि दुई गुणा भन्दा धेरै मत ल्याउने दावी गरेको छ ।
घोराही १६ का तत्कालिन अध्यक्ष लच्छीनप्रसाद बुढामगरको निधन भएपछी रिक्त रहेको सो स्थानमा नेकपाले शुरेश केसीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउने निर्णय गरेको छ । मत माग्दै जनताको घर दैलोमा उम्मेदवार केसीले वडाको समान विकासका लागि आफुले संघीय तथा प्रदेश सरकार र उपमहानगरपालिकाबाट सहजै बजेट तथा योजना लिने बताए । केसीले नेकपाको नेतृत्वमा मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने भन्दै आम जनतालाई नेकपाको सुर्य चिन्हमा मतदान गर्न अपिल गरेका थिए ।
उनले आफ्नो उम्मेदवारी व्यक्तिगत मात्र नभएर सिंगो नेकपा र समग्र विकासप्रेमी जनसमुदायको तर्फबाट भएको स्पस्ट पार्दै जनता माझ भोट माग्दै हिडिरहेका छन् ।