• २०७७ फाल्गुन १५ गते शनिवार

समस्या समस्यामै लमही अस्पताल, तीन जना डाक्टरको भरमा अस्पताल चल्दै

Author Logo..
२०७६ मङ्सिर १ गते आइतवार

ओमप्रकाश गुप्ता
लमही, १ मंसिर : दाङ देउखुरीको एक मात्र अस्पताल लमही अस्पताल यती बेला समस्या समस्यामै गुज्रिरहेको छ । लमही नगरपालिका वडा नम्बर ५ मा रहेको यो अस्पताल थुप्रै समस्याका बिच पनि जसोतसो सेवा दिइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तर बृद्धि भई हाल लमही अस्पताल बनाइए पनि उचित व्यवस्थापन नहुँदा अस्पतालको सेवा खस्कदै गएको छ । अस्पतालमा स्वास्थ्य सेवाको लागि आउने सेवागग्राही अस्पतालको अवस्था देख्दा निरास बनेर फर्किने गरेका छन् । देउखुरीको ४ वटा पालिकाको केन्द्र विन्दुमा रहेको एक मात्र अस्पतालको व्यवस्थापनमा स्थानीय सरकारले चाँसो नदेखाएको स्थानीयको गुनासो छ । नामले अस्पताल भनिए पनि कामको हिसावले प्रथामिक तहको उपचार पनि नहुँदा सबै प्रकारका विरामलाई वुटवल, नेपालगन्ज रिफर गर्ने काम मात्र भएको छ ।
लमही नगरपालिका र अस्पतालबीच तालमेल नमिल्दा अस्पतालमा उपलव्ध श्रोत साधनको व्यवस्थापन हुन सकेको छैन । लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले अस्पताल सेवा प्रभावकारी गराउनको लागि अस्पताल प्रमुखको जिम्मेबारी हुने बताउछन् । नगरपालिकाले कहाँनेर बाधा ग¥यौ भन्नुप¥यो त्यो समस्या हल हुन्छ, डाक्टर अस्पतालमै नबसेर तलव सुविधा लिने सोँच राख्नु भएन नगरप्रमुख केसीले भने । अस्पतालको सम्पुर्ण आर्थिक व्यवहार नगरपालिकाबाट संचालन हुने गरेको छ ।
अस्पतालमा आवश्यक सामानको लागि नगरपालिकालाई आग्रह गर्नुपर्ने बाध्यता अस्पताललाई छ । नगरपालिकाका प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले अस्पतालको प्रमुखले इमान्दारीता पूर्वक काम नगर्दा समस्या आएको बताउछन् । अस्पतालको प्रमुखले आवश्यक सरसामान लिन नगरपालिका छेकेकै छैन, सबै प्रकृयागत रुपमा काम गर्ने हो भने समस्या छैन्, प्रकृया मिचेर काम गर्न सकिदैन डाँगीले भने । अस्पताल प्रमुख र नगरपालिका प्रशासकिय प्रमसखको जुंगाको लडाइका कारण दिनप्रतिदिन अस्पचताल धारासायी बन्दै गइरहेको छ । अस्पतालको बारे सबैलाई जानकारी भएपनि यस विषयमा चाँसो कसैले लिएको पाइदैन ।
यसै बिच लमही अस्पताल अहिले ३ जना डाक्टरको भरमा चलिरहेको छ । ५ जना डाक्टर हुनुपर्नेमा १ जना एम.वी.वी.एस र २ जना विशषज्ञ डाक्टरको भरमा अस्पताल चलेको छ । अस्पतालमा निशुल्क औषधी भए पनि सशुल्क औषधीे भने २ महिना देखि १४ प्रकारको औषधी मात्र रहेको अस्पताल स्रोतले बताएको छ ।
आर्को तर्फ अहिले अस्पतालमा लेखा र सुचना अधिकारी विहिन अवस्थामा रहेको छ । लमही नगरपालिकाको स्वास्थ्य नीति ठिक नभएका कारण सेवा ग्राही र अस्पताल प्रशासनले दुख पाइरहेका छन् ।
लमही सबै शाखाको अवस्था दहनीय छ । प्रसुती शाखामा प्रसुतीको लागि आवश्यक पर्ने सुइ देखि बच्चा जन्मेपछि आवश्यक पर्ने साना सामान सम्म छैन् । अन्य गाउँपालिका तथा नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्ता दोव्वर बनाएर दिदा लमही अस्पतालमा पाउनुपर्ने भत्ता १०३ जनाले अहिले सम्म पनि पाएका छैनन् । यस विषयमा नगरपालिकाले सुत्केरी भत्ता वितरणको काममा अस्पतालले नै लापरवाही गरेको बताउँछ । नगरपालिकाबाट रकम निकासा गरेपनि गत आर्थिक बर्ष सकिनै लाग्दा रकम फिर्ता आएको नगरपालिका प्रशासकिय अधिकृतले बताए । ल्यावको अवस्था पनि उस्तै छ । ल्यावमा चाहिने केमीकल देखि सामान्य सुइ, सिसा बोतल सम्म छैन । बैकल्पीक प्रकृयाबाट काम चलाइएको छ । ५५ लाखको लागतमा खकार जाँच गर्ने मेसीन आएको छ, त्यसको प्रयोग भएको छैन । अप्रेसनको लागि आवश्यक पर्ने कक्ष निर्माण गर्नको लागि नगरपालिकाले पटक पटक आग्रह गरेपनि काम भएको छैन । सर्पदंश सम्बन्धी सामान प्रदेश सरकारले उपलव्ध गराएपनि सामान अस्पताल सम्म आउन सकेको छैन । गत आर्थिक बर्षमा नगरपालिकाले विनियोजन गरेको बजेटबाट काम हुन नसक्दा फिर्ता गएको छ । यसरी अस्पतालको सम्पुर्ण अवस्थालाई हेर्दा स्थानीय झनै निराश बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार