• २०७७ मङ्सिर ११ गते बिहिवार

सल्यानमा वडाअध्यक्षका लागि स्वतन्त्रसहित पाँचजनाको उम्मेदवारी

Author Logo..
२०७६ कार्तिक २७ गते बुधवार

कात्तिक २७, २०७६
सल्यान : सल्यानमा रिक्त रहेको वडाअध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कुमाख गाउँपालिका ५ मा पाँचजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वडाअध्यक्ष पदको उम्मेदवारी दिनका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयसीमा तोकिएको थियो। जसमा पार्टीबाट तीनजना र स्वतन्त्रबाट दुईजना गरेर पाँचजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे जानकारी दिए। उनका अनुसार सत्तारूढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट धर्मे बुढाथोकी, नेपाली कांग्रेसबाट खड्ग बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, स्वतन्त्रबाट चित्रप्रकाश गिरी र दलवीर बस्नेतले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रागेचौरले जनाएको छ। कार्यालयका अनुसार शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। कुमाख गाउँपालिका ५ का वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि वडाअध्यक्ष पदरिक्त रहेको थियो। सत्तारूढ नेकपाबाट उम्मेदवारी दिएका धर्मे बुढाथोकी नेकपाका प्रभावशाली नेता हुन्।  यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका खड्गबहादुर बोहरा यसअघि भएको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष पदमा पराजित भएका थिए। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका उनले १ सय ८० मत प्राप्त गरेका थिए। यस्तै, तत्कालीन माओवादी केन्द्रका उम्मेदवारले ७ सय ८८ मत ल्याएर विजयी भएका थिए भने तत्कालीन नेकपा एमालेका उम्मेदवारले २ सय २९ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार