• २०७७ कार्तिक ६ गते बिहिवार

दाङमा हुने उपनिर्वाचन १४ जनाको उम्मेदवारी , दुईजना स्वतन्त्र

Author Logo..
२०७६ कार्तिक २१ गते बिहिवार

दाङ, दाङको निर्वाचन क्षेत्र नं ३ (ख)को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भाग दिने उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा उपनिर्वाचन, मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा बिहीबार दिउँसो पुगी जिल्लास्थित राजनीतिक दलका उम्मेदवार तथा केही स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट बिमला वली, नेपाली कांग्रेसबाट केशवराज आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राप्रपाबाट भुपाल रावत, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, साझा पार्टीबाट शिवकुमार चौधरी, नेपाली कांग्रेस (विपी) विचारबाट दीपककुमार धिताल तथा स्वतन्त्र रुपमा गोविन्द केसी र टीकाराम आचार्यको उम्मेदवारी परेको छ ।

राजनीतिक दलका उम्मेदवार उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउन दल बलका साथ बाजागाजा सहित ¥र्याली लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मनोनयनका लागि बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिए पनि दलका केही उम्मेदवारको मनोनयन पत्र र मतदाता नामावलीमा नाम नामेसी नमिल्दा निर्धा्रित समयभन्दा केही ढिला गरी मनोनयनको काम सकिएको थियो । मनोनयन दर्तापछि कार्यालयले मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरेको जनाएको छ । अब शुक्रवार २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, २३ गते बिहान ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरिने र सोही दिन २ बजेदेखि ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

२४ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय दिइएको उनले बताईन । सोही दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत थापाले बताए । (नेकपा)को तर्फबाट उम्मेदवार दिनुभएकी स्वर्गीय उत्तरकुमार वली पत्नी बिमला वलीले प्रदेश सभा सदस्यमा आफुले नै जित्ने दावी गरिन् । उनीले त्यस क्षेत्रको सुख दुखसँग नजिक रहेको बताउँदै सिंगो पार्टी र त्यहाँका नागरिकक साथ आफुलाई रहेकाले आफुले जित्ने बताईन् । यस्तै, उनीले आफ्ना श्रीमान स्वर्गीय उत्तरकुमार वलीले छाडेर गएका अधुरा काम पूरा गर्न प्रतिवद्ध भएको बताउँदै पश्चिम दाङको विकासका लागि आफ्नो विकल्प अरु नभएको स्पष्ट पारिन् ।

त्यसैगरी नेपाली काग्रेसका उम्मेदवार केशवराज आचार्यले आफ्नो उम्मेदवारी प्रजातन्त्र रक्षा गर्ने र अहिले देशमा भएको विसंगती, भष्ट्रचार त्यसको विरोधमा नेपाली काग्रेसको तर्फवाट उम्मेदवारी भएको भन्दै आफुलाई नै पश्चिमी जनताले साथ दिने बताए । उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएसँगै अहिले उम्मेदवार र राजनीतिक दल चुनावी प्रचार प्रसारमा जुटेका छन् । उम्मेदवारी दर्ता गराउन पुगेका उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ का विषयमा सचेत हुँदै प्रचार प्रसारमा सहभागी बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार