काठको ठेकी बनाउनमा पूर्व माओवादी लडाकू अर्जुन ब्यस्त छन् (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ५ गते सोमवार

शान्तिनगर: शान्तिनगर गाउँपालिका ३ बस्तीखोला भिम बहादुर विक (अर्जुनं) हिजो आज आफ्नो पुख्यौँली पेशा काठको ठेकी बनाउन ब्यस्त छन् । उनी पूर्व माओवादी जनमुक्ति सेनाको लडाकु हुन् । १० वर्षे सशस्त्र जनयुद्धमा घरपरिवार र ज्यानलाई समेत त्यागेर हिडेका विक केहि बर्षदेखी ठेकी बनाएर दैनिकी चलाउँदै आएका छन् । देशमा परिवर्तन गर्नको लागी हतियार समातेको हातले काठको काम गर्न फर्कनुपर्छ भन्ने कल्पना समेत नगरेका उनीले अहिले त्यही पुख्र्यौली पेशा सम्हाल्न पुगेका छन् ।

५ वटा छोरी र श्रीमती सहित ७ जनाको पालनपोषण संगै छोरीहरुको शिक्षाका लागी यो पेशा सिक्न बाध्य बनाएको उनले बताए । २०६३ सालमा शान्तिवार्ता भएपछि उनी पार्टीकै निर्देशनमा वाइसीयल बनेर निस्किए ।‘ सेनामा बस्नेहरुले ५ लाख भएपनि त पाए, तर मैले त केही पाएन् रु परिवार पाल्नको लागी अहिले पुख्र्यौली पेशा सम्हालेको छु,’ उनले भने । २०७० सालको निर्वाचन सम्म पनि पार्टीकै निर्देशनमा काम गरिरहेका विकले २०७१ सालदेखी यो पेशा गर्दै आएका छन् । गिठाको रुख खोज्नु, त्यसलाई ताछेर विभिन्न साइजका ठेकी बनाउने र त्यसलाई गाँउ– गाँउमा लगेर विक्रि गर्नु अहिलेको दैनिकी बनेको छ ।

महिना दिन घरमै बसेर काठलाई मेसीन र आफ्नो सीपको माध्यमले ठेकी बनाउने र उत्पादन गरेका ठेकी बोकेर गाँउ – गाँउमा विक्रिका लागी पुग्छन् । अहिलेको पुस्ताले काठका भाँडा बनाउन छोडेकोले माग धेरै हुने गरेको उनको भनाइ छ । ‘ गाँउमा जहाँ गाईभैसी पालेका हुन्छन्, त्यहाँ सानो वा ठुलो एउटा न एउटा राख्नुहुन्छ,’ उनले भने,‘ काठका ठेकी नभएर अहिले गिल्टीका भाडा प्रयोग गरी रहेकाले राम्रो मानेर किन्ने गर्दछन् । दाङमा साना साना किन्छन् र ठुला ठुला बाग्लुङ तिर विक्छ उत्तै लैजान योजना छ । लकडाउनले गर्दा लग्न सकिएको छैन् । हाम्रो पुख्यौली घर बाग्लुङ हो । त्यहाँ ठेकीहरुको माग धेरै हुन्छ । ’ उनले उत्पादन गरेका ठेकी साढे २ रुपैया मानाको दरले विक्रि गर्ने गरेका छन् । सानो २ माना सम्म र ठुलोमा ४० माना सम्म अट्ने ठेकीहरु बनाउने गरेको उनले बताए ।

जनताको मुक्तिको पक्षमा १० वर्षे जनयुद्धमा जीवन समर्पण गरेका विक आज जीविकोपार्जनका लागी बाउ बाजेको पेशा सम्हाल्न पुगेका छन् । नेताका चिल्ला भाषणको प्रभावमा पारेर १६ वर्षे लक्का जवानीमा २०५६ सालमा जनयुद्धमा लागेका थिए । घर छोडेर हिडेका उनी ६ महिना पछि जनमुक्ति सेनामा भर्ना भए ।
तालीम पश्चात उनी देशका विभिन्न स्थानमा भएका लडाईका मोर्चामा सहभागी भए । दाङको घोराही, सतवरिया, अछामको मंगलशेन र रोल्पाको लिस्नेको भिडन्तमा उनी घाईते भए । अहिले पनि शरीरका विभिन्न ठाँउमा छर्राहरु रहेको उनले बताए । स्पेशल टास्क फोर्समा रहेका विक विभिन्न ठाँउमा भिडन्त गर्दै २ महिना १८ दिन हिडेर रामेछाप पुगेको बताउछन् ।

शान्ति प्रकृयापछि मंगलशेन ब्रिगेड, १ नं बटालियन, बी कम्पनीमा कमाण्डरको भुमीकामा रहेका ३६ बर्षीय विकले अहिले आएर जवानी खेर फालेकोमा पछुतो मानेका छन् । ‘अहिले आएर बाउ बाजेकै विडो धान्नुपर्छ, भन्ने थाहा पाएको भए किन जनयुद्धमा जानथ्ये होला र रु,’ उनले भने,‘ तर पनि हामी जस्ताले लडेर आएको यो परिर्वतन भएकोमा गर्भ लाग्छ । हामी त परिर्वतन भएनौँ, तर देशमा परिर्वतन भएको छ ।’ यो पेशा उनको घरमा बाजेहरु पछि अंकलले मात्र सिकेका थिए ।

उनले अंकलसंग सिकेर यो पेशा संरक्षण गर्न लागेको भएता पनि राम्रो ब्यवस्थित बनाउने योजना भएता पनि पैसा नहुदाँ समस्या भएको बताए । अहिले उनले खोलाको छेउमा पाल टागेर काम गर्दै आएका बताए । तर आफुले गाउँपालिकामा उद्योग दर्ता गरिसकेको र पैसा भए ठुलो बनाउने योजना रहेको बताए । ‘ अहिले सम्म कतैबाट सहयोग पाएको छैन्,’उनले भने,‘ मेरो बारेमा गाउँपालिका अध्यक्ष देखी वडाध्यक्षलाई सबै थाहाँ छ । उहाँलाई मैले एउटा ठुलो ठेकी उपहार दिएको छु । तर मलाई सहयोग भएन् । जसको पहुचँ छ त्यसैले पाउने हो । ’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार