बितेको ३ वर्षमा लुम्बिनी प्रदेशमा करिब ४ हजार जनाले गरे आत्महत्या

Author Logo..
दीपक वली २०७९ असोज १४ गते शुक्रवार

दाङ :  बितेको ३ वर्षमा लुम्बिनी प्रदेशमा करिब ४ हजार जनाले आत्महत्या गरेका छन् ।  लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढि आत्महत्या गर्नेमा  जिल्ला रूपन्देहीका रहेका छन् । मानसिक, यौनिक, शारीरिक, सामाजिक, आर्थिक यातना लगायतका कारणले आत्महत्या गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाहरूमा   ३ वर्षको अवधिमा ३ हजार ९७५ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६ / ०७७ मा १ हजार २३३ जना,  आर्थिक वर्ष २०७७/ ०७८ मा १ हजार ४०८ जना र आर्थिक वर्ष २०७८/ ०७९ मा १ हजार ३३४ जनाले आत्महत्या गरेका छन ।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/ ०७९ मा रूपन्देहीमा मात्रै २६७ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी दाङमा २१४, कपिलवस्तुमा १६६ जना, बर्दियामा १६१ जना, पाल्पामा ७५ जना, गुल्मीमा ७१ जना, रोल्पामा ७३ जना, प्युठानमा ६८ जना, अर्घाखाँचीमा ५९ जना, बाँकेमा ५८ जना र रुकुममा १२ जनाले आत्महत्या गरेका छन् । दाङमा आर्थिक वर्ष २०७६ / ०७७ देखि अहिलेसम्म ७१२ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो महिना सकिँदा जिल्लामा ७१२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी  कार्यालय दाङले जनाएको छ । प्रहरीका तथ्यांक अनुसार आर्थिक वर्ष २०७६ ./ ०७७ मा २२४, आर्थिक वर्ष २०७७ / ०७८ मा २३८ र आर्थिक वर्ष २०७/  ०७९ मा २१४ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्ने  उमेर समूहमा विशेषगरी १५ देखि ४९ वर्षका व्यक्ति बढी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए । गत आर्थिक वर्षमा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्यामा कमी भएको उनको भनाइ छ । यस्तै आत्म हत्या झुण्डिएर , विष सेवन, हाम फालेर, हात हतियार प्रयोग, घाँटी रेटि, आगो लगाइ लगायत विभिन्न किसिमबाट गर्ने गरेको उनले बताए । यस्तै  इन्सेक दाङ संयोजक जेएन सागरका अनुसार जिल्लामा आत्म हत्या गर्नेको संख्या बर्सेनी बढि रहेको बताए ।

उनले १६ देखि २७ उमेर सम्मका धेरैले आत्महत्या गरेका देखिने गरेको भन्दै अहिले १६ वर्ष मुनिकाले पनि आत्महत्या गर्ने गरेका कारण डरलाग्दो अवस्था रहेको बताए । यस्तै उनले यो विषयमा सरोकारवालाहरू गम्भिर हुनु पर्नेमा सुझाव दिए । मानसिक, यौनिक, शारीरिक यातना, सामाजिक, आर्थिक, वातावरणीय लगायत अन्य कारणले पनि आत्महत्या गर्ने गरेको एक अध्ययनले बताएको छ ।  युवाहरूमा बिभिन्न खालका इच्छा र आकाङ्क्षाहरू  धेरै हुने भएकाले ति पुरा हुन नसक्दा र  कुलतमा फस्दै जादा आत्महत्याको बाटो सम्म पुग्ने गरेको उनको भनाइ छ ।

उनले यसलाई रोक्नको लागि सचेतना फैलाउन जरुरी रहेको पनि उल्लेख गरे । यस्तै उनले पछिल्लो समय बालबालिकाहरूले पनि आत्महत्या गर्ने  गरेको हुँदा अभिभावकहरूले बालबालिकाहरूलाई एक्लोपन हुन नदिनमा ध्यान दिनु पर्ने पनि बताए ।

पछिल्लो समय आत्महत्याको विकराल अवस्था हुँदै जानुमा धेरै कारण भएयता पनि मुख्य कारण  मानसिक सन्तुलनसँगै डिप्रेसनले गर्दा पनि  हुने गरेको दाङमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनले  मानिसहरू हरेक कुरामा इच्छा आँकाक्षा राख्ने र त्यसबाट उसले उपलब्धि कम मात्रामा पाउँदा उसलाई मानसिक असर पर्ने भएकाले आत्महत्या पहिलो खुट्किलो सुरुवात हुने बताए ।  यो अवस्था रोक्न तथा नियन्त्रण गर्न अभिभावकको महत्वपूर्ण भूमिका हुने र आफूले आफूलाई कन्ट्रोल गर्न सकेमा समाजमा यस्ता घटनाहरु नघट्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार