चाडपर्व लक्षित सुरक्षामा दाङ एसपी वलीको कडाइ

Author Logo..
अनलाइन राप्ती २०७९ असोज १३ गते बिहिवार

दाङ :  चाडपर्व लक्षित अपराध रोक्न दाङ प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशैँ, दिपावली र छठ पर्व लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व अवधिभर १ हजार १ सय बढि प्रहरी परिचालन गरेको छ  ।   दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले चाडपर्वमा हुन सक्ने विसङ्गति, विकृति विरुद्ध प्रहरी परिचालन गरेको बताए । यस्तै प्रहरीले नेपाल भारत सिमा नाका कोइलाबास , भौवा लगायतका नाकाहरूमा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने प्रहरीले दावी गरेको छ । 

प्रत्येक प्रहरी इकाईमा प्रहरी टोली ( क्यूआरटी ) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको उनले बताए ।  चाडपर्वको समयमा बढी पटका, प्रयोग हुने भएको र आतंक फैलाउने भएकाले सो को नियन्त्रणमा पनि प्रहरी कडाइका साथ प्रस्तुत हुने उनले बताए। चाडपर्वमा जुवा लाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना ल्याएको छ । जुवा, चन्दा लगायतका गतिविधिहरूको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ ।

यस्तै लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने भालुबाङ अमिलिया राजमार्ग लक्षित गरि रातीको समयमा गस्ती बढाउने योजना रहेको पनि उनले बताए  । बन्द रहने सरकारी कार्यालय, तथा सङ्घसंस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरूसँग समन्वय सहितको सुरक्षा व्यवस्था पनि मिलाइने भएको छ । प्रहरीका बिभिन्न युनिटहरूले विगतमा आआफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साइकल, मोटर साइकल र गाडी गस्ती परिचालन गरिने भएको छ ।

घोराही , तुलसीपुर र लमहि र भालुबाङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरू ल्याउने र विसर्जन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने एसपी वलीले बताए  । यस्तै तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको उनले बताए ।  यस्तै चाडपर्वको समयमा बढि भिडभाड हुने बजारमा पैदल गस्ती, मोबाइल गस्ती गरी बिभिन्न प्रकारका अपराधिक कृयाकलापहरू विरुद्ध प्रहरी परिचालन गरिने पनि दाङ प्रहरीको योजना छ ।

 यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढ्न सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ । समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्नको लागि प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भएको हुँदा बर्दी सहितका प्रहरी भन्दा बिना वर्दिका आम नागरिकको जिम्मेवारी महत्वपूर्ण हुने हुँदा आम नागरिक त्यस तर्फ सजग एवं सतर्क रहन दाङ प्रहरीले अनुरोध गरेको छ ।

 गाँउ बस्तीमा हुने बिभिन्न खालका घटनाको बारेमा प्रहरीको निशुल्क सम्पर्क नम्बर १०० मा सम्पर्क गर्नपनि आम नागरिकहरूलाई प्रहरीले आग्रह गरेको छ । समुदाय साझेदारी अभियान अन्तर्गत गठित बिभिन्न समितिको सहकार्यमा सुरक्षा ब्यवस्था लाई चुस्त दुरुस्त राख्न दाङ प्रहरी समन्वयात्मक ढंगले क्रियाशिल रहेको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार