प्रथम तुलसीपुर सांस्कृतिक मेला सञ्चालन हुने

Author Logo..
अनलाइन राप्ती २०७९ असोज १२ गते बुधवार

दाङ :  तुलसीपुरमा ‘प्रथम तुलसीपुर सांस्कृतिक मेला २०७९ ’ सञ्चालन हुने भएको छ । स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ आगामी असोज २५ गतेदेखि कार्तिक ८ गतेसम्म मेला सञ्चालन हुने भएको हो । मेलामा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

‘स्वास्थ्य शिक्षा, सूचना हाम्रो अभियान, कला, संस्कृति र भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको मेलामा एकल, युगल र सामूहिक नृत्य र दोहोरी प्रतियोगिता हुने मूल आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए ।  उनका अनुसार मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको विभिन्न सांस्कृतिक प्रस्तुति रहने भएको छ ।

मेलामा आदिवासी, जनजाति समुदायको रहनसहन र भेषभुषा प्रदर्शनी हुनुका साथ बाल उद्यान पनि रहने उनले बताए ।  नृत्य तथा दोहोरी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पुरस्कार समेत प्राप्त गर्ने भएका छन् । नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उनले बताए ।

 यस्तै लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेले ५० हजार , द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले बताए । दोहोरी प्रतियोगिताको लागि पहिलो चरणमा असोज २६ देखि ३० गतेसम्म अडिसन ( छनौट ) प्रतियोगिता हुने क्लबका उपाध्यक्ष सुरज ज्ञवालीले जानकारी दिए ।

 मेला तुलसीपुर उपमहानगरपालिका  ५ को पातुखोला पुलको उत्तरतर्फ सञ्चालन हुने उनले बताए ।  मेलामा करिब २ लाखले अवलोकन गर्ने र २५ लाखको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आयोजक क्लबले मेलामा बिक्री भएको प्रति टिकटको ५ रुपैयाँ सामाजिक काममा समेत लगाउने भएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार