बिजौरी  दहवन सडकखण्ड दशैँ अगावै खोलिने 

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ७ गते शुक्रवार


दाङ :  वर्षायाममा आएको पहिरोको कारण अवरुद्ध रहेको बिजौरी दहवन सडकखण्ड दशैँ अगावै खोलिने भएको छ । तुलसीपुर उपमहानगरपालिका र  रुन्टीगढी गाउँपालिकाका प्रमुखबीच भएको छलफल पश्चात् अवरुद्ध सडक सञ्चालनका लागि दुवै पालिकाले आफ्ना यान्त्रिक साधनहरू प्रयोग गरेर  सञ्चालनमा ल्याइने भएको हो ।

 तुलसीपुर उपमहानगरपालिकाभित्र पर्ने सडकखण्डमा आएको पहिरो तुलसीपुरले हटाउने भएको छ,  भने रुन्टीगढी क्षेत्रमा आएको पहिरो रुन्टीगढीले हटाउने भएको छ । छलफलका क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पालिका भित्र पर्ने सुंगुर खोलामा पालिकाकै बजेटमा संरचना निर्माण गरेर बाह्रै महिना सडक सञ्चालनमा ल्याएको बताए । उनले वर्षायाममा सबैभन्दा बढी जोखिम रहेको रानीवास क्षेत्रमा पुल निमार्णका लागि पालिकाको तर्फबाट पुल निर्माणका लागि प्राविधिक सर्वे गरिएको बताए ।

उनले अन्तरपालिका छलफल गरेर दुधरास छिल्लीकोट डुब्रिङ सडक, बिजौरी श्रीचौर दहवन सडक सञ्चालन र त्यस क्षेत्रमा भएका कृषिजन्य वस्तुको बजारीकरणमा सहयोग आदान प्रदान गर्न सकिने बताए ।  रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले सडक क्षेत्रमा पुल निर्माण गर्नका लागि पुलको डिटेल सर्वे गरेर प्रदेश संघ सरकार मार्फत माग गर्नका लागि दुवै पालिकाका नेतृत्वको अग्रसरतामा मात्रै सम्भव हुने बताए । उनले अन्तरपालिका छलफलबाट यस क्षेत्रको सडक, कृषि, पर्यटन क्षेत्रको विकास विस्तारका लागि सहयोग पुग्ने बताए । 

 बिजौरी होलेरी दहवन सडकखण्डले तिन वटा जिल्लालाई  जोड्ने गर्दछ । दाङको तुलसीपुर उपमहानगरपालिका, सल्यानको कपुरकोट गाउँपालिका र सल्यानको कपुरकोट  गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने गर्दछ । ,बिजौरी हुँदै दहवन सडकखण्डको दूरी २८ किलोमिटर मात्रै रहेको छ । यस सडकबाट बाह्रै महिना सञ्चालनमा आउँदा रुन्टीगढी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरणमा टेवा पुग्ने  स्थानीय शिक्षक भरत केसीले बताए ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार