मानवसेवा आश्रममा निःशुल्क औषधी वितरण

Author Logo..
तुफानबाबु श्रेष्ठ २०७९ असोज ६ गते बिहिवार


दाङ :   नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखाले सामाजिक उत्तरदायित्व वहन गर्दै मानवसेवा आश्रम तुलसीपुरमा निःशुल्क औषधी वितरण गरेको छ । कार्यक्रममा आश्रमकी सञ्चालिका सिर्जना अधिकारीले हेटौडामा केन्द्रिय कार्यालय रहेको मानवसेवा आश्रमको हालसम्म देशका १६ वटा जिल्लामा शाखा रहेको बताइन । तुलसीपुरमा रहेको शाखाको व्यवस्थापन सन्तोषजनक रहेको र ६५ जना बेसहारा तथा सडक मानवहरूको उद्धार गरिएसँगै सबैलाई उचित सरसफाइ, खानपिन र औषधी उपचार तथा बसाइको प्रबन्ध गरिएको उनको भनाइ थियो ।

यति धेरै मेहेनतका साथ व्यवस्थापन हुँदै आएको संस्था हाल महँगो भाडा तिरेर सञ्चालन गर्दा यसको व्यवस्थापनको निरन्तरता र दिगोपनमा कतै समस्या त आउने होइन ? भन्दै उनले चिन्ता व्यक्त गरिन् । कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रिय सदस्य शरदराज शर्माले आश्रममा रहेका बुवा आमाहरूको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै पारिवारिक पुनर्मिलनको लागि शुभकामना दिए। साथै उनले स्थानीय सरकार वा निकाय तथा सरोकारवालाहरूले मानवसेवा आश्रमको व्यवस्थापनमा चासो देखाउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्यले बिग्रदो मानव सभ्यता, मान्छेको स्वभाव तथा  व्यहोरामा मानवीय नैतिकता, आदर्श, मूल्य मान्यता, दया माया, करुणा र सद्भावको खडेरी परिरहेको अवस्थामा मानव सेवाको भावले अशक्त घरबार विहीन, मानसिक रूपले विक्षिप्त भएका, खाना नाना र छाना विहीन मानवहरूको उद्धार गरी मानव कल्याणको काममा लाग्नु भएका आश्रमका संस्थापक तथा व्यवस्थापकलाई धन्यवाद दिए । 

नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखाका अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ढकालले मानवसेवा आश्रमलाई स्वास्थ्य उपचारको लागि औषधी उपलब्ध गराउने काममा निरन्तरता दिने र सम्भव हुन सक्ने हरेक सहयोगको लागि आफ्नो संस्था प्रतिवद्ध रहेको धारणा व्यक्त गरे ।  दाङमा क्रियाशील औषधी थोक व्यवसायीहरूको उल्लेख्य मात्रामा उपस्थिति रहेको कार्यक्रमको सहजिकरण संघका जिल्ला शाखा सचिव मरिचमान धितालले गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार